सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठक्करपछि ‘अस्पताल लैजाने’ भन्दै सडकमै छाडेर चालक फरार, वृद्धको मृत्यु

२०८३ भदौ २८, ०२:२८ खबर संवाददाता

विराटनगर: सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका वृद्धलाई अस्पताल लैजाने भन्दै सडकमै छाडेर चालक फरार भएपछि विराटनगरमा एक वृद्धको मृत्यु भएको छ।

आइतबार बिहान विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा सिटी सफारीको ठक्करबाट विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेत घाइते भएका थिए। स्थानीयले उद्धार गरी सफारीमै राखेर कोशी अस्पताल लैजान पठाए पनि चालकले उनलाई अस्पताल नपुर्‍याई विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर भागेका थिए।

सिमसिम पानी परिरहेका बेला सडकमा भेटिएका बस्नेतको मृत्यु भइसकेको अवस्थामा पहिचान खुलेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले खोजी गर्ने क्रममा सफारी चालक मोरङ कटहरी–२ का ५५ वर्षीय अर्जुन भगतलाई आफ्नै घरबाट पक्राउ गरेको छ। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कमेन्ट लोड गर्नुस