सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीय शिक्षा ऐनमा प्रारम्भिक बालशिक्षाका विषय समेट्न अपेनको सुझाव

२०८३ असोज १४, ०८:३१ खबर संवाददाता

काठमाडौं: एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल (अपेन) ले संघीय शिक्षा ऐनमा प्रारम्भिक बालशिक्षाका महत्वपूर्ण विषयहरू स्पष्ट र प्रभावकारी रूपमा समेट्न माग गर्दै आफ्ना सुझावहरू सम्बन्धित निकायसमक्ष हस्तान्तरण गरेको छ।

अपेनका केन्द्रीय अध्यक्ष कृष्णकुमार बोहराको नेतृत्वमा गएको टोलीले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति डा. ओजस्वी शेरचन तथा माननीय पुकार बमलाई प्रारम्भिक बालशिक्षासम्बन्धी सुझाव तथा प्रस्तावहरू हस्तान्तरण गरेको हो।

प्रारम्भिक उमेर समूहका १० लाखभन्दा बढी बालबालिकाको शिक्षा, विकास र भविष्यसँग जोडिएका विषयहरूलाई संघीय शिक्षा ऐनमै स्पष्ट र प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने अपेनले जनाएको छ।

अपेनले प्रारम्भिक बालशिक्षालाई बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, भावनात्मक तथा बौद्धिक विकासको आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएको छ।

त्यसैगरी, प्रारम्भिक बालशिक्षाको गुणस्तर अभिवृद्धि, दक्ष तथा प्रशिक्षित शिक्षकको व्यवस्था, बालमैत्री सिकाइ वातावरण, शिक्षकको पेशागत विकास, संस्थागत व्यवस्थापन तथा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्ने विषयलाई ऐनमै स्पष्ट व्यवस्था गर्नुपर्ने अपेनको सुझाव छ।

अपेनले संघीय शिक्षा ऐन निर्माणका क्रममा प्रारम्भिक बालशिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत शिक्षक, शिक्षाविद् तथा सरोकारवालाहरूको व्यावहारिक अनुभव र सुझावलाई प्राथमिकताका साथ समेट्न आग्रह गरेको छ।

बालबालिकाको प्रारम्भिक वर्ष नै उनीहरूको भविष्य निर्माणको महत्वपूर्ण आधार भएकाले प्रारम्भिक बालशिक्षालाई राज्यको शिक्षा नीतिमा उच्च प्राथमिकताका साथ स्थापित गर्नुपर्ने अपेनको धारणा छ।

कमेन्ट लोड गर्नुस