‘मिस लिटल एण्ड टिन फारवेस्ट नेपाल २०२६’ का विजेता घोषणा
धनगढीः मोडलिङ, आत्मविश्वास, व्यक्तित्व विकास तथा प्रतिभा प्रदर्शनलाई केन्द्रमा राख्दै आयोजना गरिएको ‘मिस लिटल एण्ड टिन फारवेस्ट नेपाल २०२६’ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा २२ दिनसम्म सञ्चालन गरिएको विशेष प्रशिक्षण अन्तर्गत सहभागीहरूलाई मोडलिङ वाक, स्टेज प्रस्तुति, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फोटोसुट, प्रतिभा प्रस्तुति तथा सञ्चारसम्बन्धी प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट विजेताको उपाधि परिधि दाहालले जितेकी छन्।
त्यस्तै मिस टिन ग्लोबल इन्टरनेसनल नेपालको उपाधि बिन्दु जोशीले हात पारिन्। यसैगरी, मिस टिन सुदूरपश्चिम नेपाल २०२६ प्रतिभा खड्का, मिस लिटिल फस्र्ट नेपाल २०२६ प्रिन्शिका भण्डारी, उपविजेता निर्मला बम र बिशेषता खड्का रहेका छन्। २२ दिनको प्रशिक्षणले सहभागीहरूमा स्टेजमा प्रस्तुत हुने आत्मविश्वास, अनुशासन, व्यक्तित्व विकास र मोडलिङसम्बन्धी आधारभूत तथा व्यावहारिक सीप विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।
‘सौन्दर्य, प्रतिभा, आत्मविश्वास, संस्कृति’ भन्ने अवधारणालाई आत्मसात गर्दै आयोजना गरिएको प्रतियोगिताले बालबालिका तथा किशोर–किशोरीमा लुकेको प्रतिभा पहिचान गरी उनीहरूलाई मोडलिङ तथा व्यक्तित्व विकासको क्षेत्रमा अघि बढ्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको थियो। ग्राण्ड फिनालेसँगै विजेताहरूलाई विभिन्न अवसर, प्रशिक्षण तथा आगामी मोडलिङ गतिविधिमा सहभागी गराउने तयारीसमेत रहेको आयोजकले जनाएको छ।