विदेशिएको छोराको पीडा समेट्दै ‘फर्कि आउ ए परदेशी’ सार्वजनिक
धनगढी :धनगढीका कलाकार पुष्कर अवस्थीको मुख्य अभिनय रहेको ‘फर्कि आउ ए परदेशी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
दसैँ–तिहारलाई लक्षित गरी तयार पारिएको उक्त गीत आइतबार पुष्कर अवस्थीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
विदेशमा रोजगारीका लागि गएको घरको एक्लो छोराले चाडपर्वमा परिवारसँगै बस्न नपाउँदाको पीडा र भावनात्मक छटपटीलाई गीतको म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ। परिवारबाट टाढा रहनुपर्दाको दुःख, घर फर्किने चाहना र चाडपर्वका बेला स्वदेश आउन नपाउँदाको पीडालाई भिडियोमा समेटिएको कलाकार अवस्थीले बताए।
दसैँ–तिहारजस्ता नेपालीका प्रमुख चाडपर्वमा परिवारसँगै बसेर खुसी साटासाट गर्ने चाहना हुँदाहुँदै पनि रोजगारीका कारण विदेशमै बस्न बाध्य नेपालीको यथार्थ कथालाई गीतले उजागर गर्न खोजेको उनको भनाइ छ। निर्माण पक्षले पनि गीतले आम नेपाली दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरेको छ।
पुख्यौली घर डडेल्धुराको अमरगढी नगरपालिका भएका अवस्थीले पछिल्ला केही वर्षदेखि कलाकारितालाई निरन्तरता दिँदै आएका छन्। उनले हालसम्म २० भन्दा बढी विभिन्न गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। देउडा, आधुनिक, मोडलिङलगायत विभिन्न विधाका गीतका भिडियोमा उनको अभिनय देख्न सकिन्छ।
अभिनयसँगै समाजमा विद्यमान विकृति, विसङ्गति र रूढिवादी परम्पराविरुद्ध जनचेतना फैलाउने उद्देश्यले गीतसङ्गीतमार्फत सन्देश दिने प्रयास गरिरहेको अवस्थीले बताए। आगामी दिनमा पनि समाजलाई सकारात्मक सन्देश दिने खालका गीत तथा म्युजिक भिडियोमा अभिनय गर्दै जाने उनको योजना छ।
सुदूरपश्चिममा कला र सङ्गीत क्षेत्रको सम्भावना भए पनि कलाकारका लागि पर्याप्त अवसर र मार्गदर्शनको अभाव रहेको उनको अनुभव छ। कलाकारलाई प्रोत्साहन तथा सम्मान गर्ने वातावरण निर्माण गर्न र सङ्गीत क्षेत्रको विकासका लागि सरकारले स्पष्ट योजना ल्याउनुपर्ने उनले बताए।
प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिमको अपेक्षित प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै अवस्थीले यस क्षेत्रको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा सरकारी निकायले समेत पहल गर्नुपर्ने धारणा राखे।
‘फर्कि आउ ए परदेशी’ गीतमा भक्तराज भट्ट डोटेली र शान्तिश्री परियारको स्वर रहेको छ। मिलन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा पुष्कर अवस्थी र रिचा थापाले अभिनय गरेका छन्।
गीतको सङ्गीत संयोजन नारायण दंगालले गरेका हुन् भने रेकर्डिङ गोपाल दाहालले गरेका छन्। गीतको रेकर्डिङ काठमाडौँस्थित म्युजिक प्लस स्टुडियोमा गरिएको हो। म्युजिक भिडियोको सम्पादन धिनाल फिल्मस् प्रालिले गरेको छ। कलाकार अवस्थी धनगढीका एक सफल व्यवसायी समेत हुन् ।