सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र
काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ ।
मन्त्रालयले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बिमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन सम्बन्धित निकायमा समन्वय गर्न अनुरोध गरेको हो ।
मन्त्रालयका अनुसार पत्रमा नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पत्राचार, समन्वय र सहजीकरण गरिदिन आग्रह गरिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सरकारी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य बिमामा आबद्धता विस्तार गर्ने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरिएको मन्त्रालयले प्रेस नोटमार्फत जनाएको छ ।