सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते

२०८३ असोज २८, ०४:०९ रासस

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा भएका १५ वटा विपद्का घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् ।

विपद्मा परी घाइते भएकाको स्थानीय स्वास्थ्य केन्द्र र सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ती घटनामा २६ लाख ३३ हजार बराबरको भौतिक क्षति भएको छ ।

त्यस अवधिमा देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश लगायतका विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मोरङ, सप्तरी, पाल्पा, सुर्खेत, कालीकोट र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन् । 
त्यस्तै मोरङ, धनकुटा, महोत्तरी, काठमाडौँ, कैलाली र कञ्चनपुरमा आगलागीका घटना भएका थिए ।

प्राधिकरणका अनुसार उक्त अवधिमा भएका विपद्का घटनाबाट मानवीय तथा पशुचौपायामा क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन तथा व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ ।

मौसममा भइरहेको परिवर्तन तथा वर्षाजन्य विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 
विपद्का समयमा सावधानी अपनाउन र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नसके जनधनको क्षति कम गर्न सकिने प्राधिकरणले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस