वन्यजन्तुको परम्परागत मार्ग थुनिँदा बढ्दै जोखिम, धनगढीमै हात्ती आतंक
धनगढीः धान भित्र्याउने तयारीमा रहेकी धनगढी उपमहानगरपालिका–३, मिलनचोककी गीता गुरुङको १० कट्ठा जमिनमा लगाएको धानबाली जंगली हात्तीले नष्ट गरेको छ। बिहीबार राति खेतमा पसेको हात्तीले धानबालीमा क्षति पुर्याएपछि गुरुङ चिन्तित बनेकी छन्।
वर्षभरि मेहनत गरेर हुर्काएको धान भित्र्याउने बेला हात्तीले नष्ट गरेपछि आफूले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको गुरुङले बताइन्। क्षति भएको बालीको उचित क्षतिपूर्ति पाए केही राहत हुने उनको भनाइ छ।
धनगढी–३ मा हात्तीले खेतीबाली नष्ट गरेको यो पहिलो घटना भने होइन। यस क्षेत्रमा जंगली हात्तीको आवागमन बढ्दै जाँदा किसानले बर्सेनि खेतीबालीमा क्षति बेहोर्नुपरेको छ। हात्तीले धानबाली नष्ट गर्ने मात्र नभई बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासीसमेत त्रसित छन्।
वन्यजन्तुको परम्परागत आवागमन मार्गमा बस्ती विस्तार हुनु र प्राकृतिक बासस्थान खुम्चिँदै जानु मानव–वन्यजन्तु द्वन्द्व बढ्नुका प्रमुख कारणका रूपमा देखिएका छन्। वन संरक्षणकर्मीससमेत रहेका धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरका अनुसार भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट लालझाडी वन हुँदै चुरे क्षेत्रसम्म वन्यजन्तुको आवागमन हुने गरेको छ। तर, वन्यजन्तु ओहोरदोहोर गर्ने जैविक मार्गमा सडक, बस्ती तथा अन्य संरचना विस्तार हुँदा उनीहरूको आवागमनमा अवरोध सिर्जना भएको उनको भनाई छ।
वनमा आहारको अभाव र प्राकृतिक बासस्थान खुम्चिँदै जाँदा वन्यजन्तु बस्ती तथा खेतबारीमा पस्ने जोखिम बढेको छ। कुनै समय ‘कहिले हात्ती लालझाडीमा, कहिले हात्ती दाङमा’ भन्ने गीतसमेत प्रचलित थियो। यसले तराईका विभिन्न वन क्षेत्रमा हात्तीको परम्परागत आवागमनलाई सम्झाउँछ। तर, पछिल्लो समय वन्यजन्तु हिँड्ने कतिपय मार्गमा बस्ती विस्तार भएको छ।
भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट नेपालतर्फ वन्यजन्तु प्रवेश गर्ने महत्त्वपूर्ण क्षेत्रमध्ये डोकेबजार पनि एक हो। अहिले यस क्षेत्रमा बाक्लो बस्ती विस्तार भएको छ। लालझाडी करिडोर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा समेत वन्यजन्तुको आवागमन हुने गरेको छ। वन्यजन्तुको आवागमन मार्ग खुम्चिँदै जाँदा उनीहरू बस्ती र खेतीयोग्य जमिनतर्फ पुग्ने जोखिम बढेको छ।
हात्तीबाट मात्रै होइन, बँदेल, नीलगाई, चित्तल र बाँदरबाट समेत धनगढी क्षेत्रका किसानले खेतीबालीमा क्षति बेहोर्नुपरेको छ। वर्षभरि गरेको मेहनत क्षणभरमै नष्ट हुँदा किसानको आम्दानी प्रभावित हुने गरेको छ।