चुलोचौकोबाट उद्यम बजारसम्मः धनगढीका महिला सीप बेच्दै आत्मनिर्भर बन्ने यात्रामा
धनगढीः धनगढीको फुलबारीकी सन्तु भट्टराई शनिबारीय महिला उद्यम बजारमा चटपटे बेचिरहेको भेटिन्छिन्। सानो लगानीबाट सुरु गरेको उनको व्यवसायले आम्दानीको बाटो खोलेको छ। आफ्नै सीप प्रयोग गरेर कमाउन पाउनु र आफ्नो उत्पादन अरूमाझ चिनाउन पाउनुले उनलाई उत्साहित बनाएको छ। सन्तुका लागि धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको उद्यम बजार चटपटे बेच्ने ठाउँ मात्र होइन, सानो प्रयासबाट पनि उद्यमी बन्न सकिने सम्भावना देखाउने माध्यम बनेको छ।
धनगढीकी अनिता श्रेष्ठ पढाइसँगै आफ्नो समुदायका परम्परागत परिकार बिक्री गर्छिन्। पहिले घरमा खाली समय बिताउँदै आएकी उनी अहिले शनिबार विभिन्न नेवारी परिकार तयार पारेर महिला उद्यम बजारमा बिक्री गर्न पुग्छिन्। नेवारी समुदायमा प्रचलित परिकार अन्य समुदायका मानिसले समेत रुचाउन थालेपछि उनी आफ्नो व्यवसायप्रति थप उत्साहित छिन्। यसबाट आम्दानी गर्ने अवसर मिल्नुका साथै आफ्नो समुदायको मौलिक खानपानबारे अरूलाई चिनाउन पाएको उनको अनुभव छ। अनिताका लागि बजारले आफ्नो सीप र रुचिलाई व्यवसायमा बदल्ने अवसर दिएको छ। पढाइसँगै व्यवसायलाई अघि बढाउन पाउँदा उनले समयको सदुपयोगसमेत गरिरहेकी छन्।
धनगढीकै विष्ना अवस्थी सुदूरपश्चिमको परम्परागत परिकार बटुक बिक्री गर्छिन्। स्थानीय भान्सामा पाक्ने बटुकलाई बजारसम्म पुर्याएर आम्दानी गर्न सकिने भएपछि उनी पनि महिला उद्यम बजारमा स्टल राख्न थालेकी हुन्। घरभित्रै सीमित हुनसक्ने परम्परागत परिकारलाई उपभोक्तासम्म पुर्याउन पाउँदा उनी उत्साहित छिन्। बटुकको बिक्रीबाट आम्दानी हुनुका साथै सुदूरपश्चिमको मौलिक खानाको पहिचान विस्तार गर्नसमेत सहयोग पुगेको उनको अनुभव छ।
सन्तु, अनिता र विष्नाका व्यवसाय फरक छन्। तर, उनीहरूको उद्देश्य एउटै छ—आफूसँग भएको सीप र क्षमतालाई उपयोग गर्दै आम्दानी गर्नु र आत्मनिर्भर बन्नु। धनगढीका अन्य महिलाहरू पनि आफूमा भएको सीप र रुचिलाई व्यवसायमा बदल्दैछन्। कसैले परम्परागत खानाका परिकार बेचिरहेका छन् भने कसैले घरेलु सीपबाट तयार पारेका सामग्री बजारमा ल्याइरहेका छन्। घरमै सीमित भएर बित्ने समयलाई आम्दानीको अवसरमा बदल्न उनीहरूलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको महिला उद्यम बजारले सहयोग पुर्याएको छ।
महिला उद्यम बजारले महिलाहरूलाई उत्पादन बिक्री गर्ने अवसर मात्र दिएको छैन, उपभोक्ताको रुचि बुझ्ने र आफ्ना उत्पादनको पहिचान स्थापित गर्ने माध्यमसमेत उपलब्ध गराएको छ। सानो लगानीबाट सुरु गरिएका व्यवसायले महिलाहरूमा उद्यमशीलताप्रतिको रुचि र आत्मविश्वास बढाउन सहयोग पुर्याएका छन्। धनगढी उपमहानगरपालिकाले हरेक शनिबार सञ्चालन गर्ने बजारमा स्थानीय उत्पादन, घरेलु सामग्री तथा विभिन्न समुदायका परम्परागत परिकार बिक्रीका लागि राखिन्छन्। यसले महिला उद्यमीलाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउन सहज बनाएको छ।
बजारलाई थप आकर्षक बनाउन बालबालिका र ज्येष्ठ नागरिकका लागि खेलकुद तथा भजनकीर्तनको व्यवस्थासमेत गरिएको छ। त्यसैले यो बजार किनमेल गर्ने स्थानका साथै परिवारका सदस्यहरू भेला हुने र रमाइलो गर्ने साझा स्थलका रूपमा पनि विकास भइरहेको उपमहानगरपालिकाले जनाएको छ।