सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरका अस्पतालमा कार्यरत करार कर्मचारीको भएन माग सम्बोधन, तलब वृद्धि र भत्ताबाट वञ्चित

२०८३ कार्तिक ११, ०४:२० अनुभव भट्ट

धनगढीः एउटै अस्पतालमा समान प्रकृतिको काम, तर सेवासुविधामा विभेद। सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा कार्यरत कार्यक्रम करारका कर्मचारीहरूले यस्तै विभेद भोग्नुपरेको गुनासो गर्दै आएका छन्। सङ्घीय सरकारले तोकेको तलब वृद्धि, महँगी भत्ता, चाडपर्व खर्चलगायत सुविधा नपाएको भन्दै उनीहरूले प्रदेश सरकारसँग आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन्।

जिल्ला र प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारीहरूले समान कामअनुसार समान सेवासुविधा पाउनुपर्ने माग अघि सार्दै आएका हुन्। उनीहरुले स्थायी तथा स्वीकृत दरबन्दीका कर्मचारीसरह सुविधा नपाएको उनीहरूको गुनासो छ। जिल्ला अस्पताल डोटीमा करार तथा कन्ट्याक्टअन्तर्गत कार्यरत कर्मचारीहरूले तलब वृद्धि, महँगी भत्ता र अन्य सेवासुविधा उपलब्ध गराउन माग गर्दै अस्पताल प्रमुखसमक्ष निवेदन पेस गरेका छन्। अघिल्ला वर्षमा पाइरहेका सेवासुविधा चालु आर्थिक वर्षमा नपाउँदा आफूहरू समस्यामा परेको उनीहरूको भनाइ छ।

एउटै अस्पतालमा समान प्रकृतिको काम गर्ने कर्मचारीबीच सेवा सुविधामा फरक व्यवहार हुनु उचित नभएको जिल्ला अस्पताल डोटीमा कार्यरत फार्मेसी सहायक हर्कराज ओली बताउँछन्। उनका अनुसार स्थायी तथा स्वीकृत दरबन्दीका कर्मचारीले सुविधा पाउँदा कार्यक्रम करारमा कार्यरत कर्मचारी भने त्यसबाट वञ्चित हुनुपरेको छ। यता, सेती प्रादेशिक अस्पतालमा कार्यरत करार कर्मचारीहरूले पनि माग सम्बोधनका लागि आन्दोलन गरेका थिए। उनीहरूले असोज २९ गते सामाजिक विकास मन्त्रालय र त्यसको भोलिपल्ट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिएका थिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले माग सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको सेती प्रादेशिक अस्पतालमा कार्यरत एक स्टाफ नर्सले बताइन्। उनका अनुसार कर्मचारीहरूले सङ्घीय सरकारले तोकेको १० प्रतिशत तलब वृद्धि, वर्षमा एकपटक पाइने पेस्की तथा अन्य भत्ता उपलब्ध गराउन माग गरेका छन्। प्रदेश सरकारको बजेट आउन ढिलाइ हुनु र माग राखेको दोस्रो दिनदेखि नै दसैँ बिदा सुरु हुनुले समस्या समाधानमा ढिलाइ भएको उनको भनाइ छ।

सेती प्रादेशिक अस्पतालका कर्मचारीको समस्या कुनै एक अस्पतालमा मात्र सीमित नरहेको भन्दै उनले सुदूरपश्चिमका सरकारी अस्पतालमा कार्यक्रम करारअन्तर्गत कार्यरत कर्मचारीहरूको साझा समस्या भएको बताइन्। यसैगरी, जिल्ला अस्पताल बाजुरामा कार्यरत करार कर्मचारीहरूले पनि सेवा सुविधामा समानताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। समस्या एउटा जिल्लामा मात्र सीमित नभएकाले सबै जिल्लाका कर्मचारी एकजुट भएर चरणबद्ध आन्दोलनमा जाने तयारी भइरहेको जिल्ला अस्पताल बाजुरामा कार्यरत ल्याब टेक्निसियन प्रकाशराज गिरीले बताए।

सुदूरपश्चिमका विभिन्न सरकारी अस्पतालमा कार्यरत करारका कर्मचारीहरूले समान कामका आधारमा समान सेवासुविधा उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन्। उनीहरूले तलब वृद्धि, महँगी भत्ता, चाडपर्व खर्च तथा अन्य सुविधामा देखिएको विभेद अन्त्य गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
 

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस