सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

२०८३ कार्तिक ११, ०८:०० खबर संवाददाता

धनगढी: कैलालीको भजनीमा बोक्सीको आरोप लगाउँदै ५६ वर्षीया महिलामाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

भजनी नगरपालिका–५ मिलनपुरकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले कृष्ण डंगौरा, राजु डंगौरा, राजन डंगौरा र उर्मिला डंगौरालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार महिलाले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। जाहेरीअनुसार महिला घरमा सुतिरहेको अवस्थामा पुगेका आरोपितहरूले बोक्सीको आरोप लगाउँदै गालीगलौज गर्नुका साथै ओछ्यानबाट तानेर लछारपछार गर्दै कुटपिट गरेका थिए।

महिलालाई कुटपिट भइरहेको देखेपछि बचाउन पुगेका उनका नाति सञ्जित चौधरीलाई समेत आरोपितहरूले कुटपिट गरेको जाहेरीमा उल्लेख छ।

घटनाबारे जाहेरी परेपछि इलाका प्रहरी कार्यालय भजनीले अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेका चारै जनालाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस