सुदूरपश्चिम नवउद्यमी सम्मेलन : रोजगारी खोज्ने युवा नभई रोजगार दिने उद्यमी बनाउने लक्ष्य
धनगढीः सुदूरपश्चिम प्रदेशमा नयाँ उद्यम स्थापना र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले कैलाली बहुमुखी क्याम्पसमा तीनदिने ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ भइरहेको छ। ‘स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा युवालाई व्यवसाय सञ्चालन, लगानी व्यवस्थापन, बैंकबाट ऋण लिने प्रक्रिया तथा ब्याजसम्बन्धी विषयमा व्यावहारिक ज्ञान प्रदान गरिँदै छ।
सम्मेलनमा सहभागी सयौं युवाहरूमध्ये ७० जना नवउद्यमी छनोट गरिने छ। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसको इन्क्युबेसन सेन्टरले आयोजना गरेको सम्मेलनबाट क्याम्पसमा अध्ययनरत ३५ जना र अन्य ३५ जना गरी ७० जना छनोट गरिनेछ। छनोटमा परेका नवउद्यमीलाई विषयविज्ञमार्फत थप ९० दिनसम्म विशेष प्रशिक्षण दिइने आयोजकले जनाएको छ। विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका र अध्ययन पूरा गरेका युवालाई लक्षित गरी सम्मेलन आयोजना गरिएको आयोजक समितिका सदस्य धर्मराज जोशीले बताए। ‘युवालाई व्यवसायमा कसरी जोडिन सकिन्छ भनेर सिकाइरहेका छौँ,’ जोशीले भने, ‘पहिलो दिन व्यवसायिक प्रस्तुति (प्रेजेन्टेसन पिच) सम्बन्धी प्रशिक्षण दिइएको थियो। दोस्रो र तेस्रो दिन सहभागीलाई आफ्ना व्यावसायिक अवधारणा (आइडिया पिच) प्रस्तुत गर्न लगाइएको छ।’
सम्मेलनले युवाका नयाँ सोच र व्यावसायिक अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुग्ने आयोजकको विश्वास छ। कम्पनी दर्ता नगरेका वा विस्तृत व्यावसायिक प्रस्ताव तयार नपारेका युवाले पनि आफ्नो सीप, सोच र स्थानीय सम्भावनाका आधारमा सम्मेलनमा सहभागी हुने अवसर पाएका छन्।
सम्मेलनमा सहभागी राजन भट्टले कार्यक्रमले व्यवसाय सुरु गर्ने तरिका सिक्न र आफ्ना योजना प्रस्तुत गर्न अवसर दिएको बताए। ‘अवसर नपाएर भौँतारिरहेका युवाका लागि यो निकै लाभदायक कार्यक्रम हो। यसबाट व्यवसाय कसरी सुरु गर्ने भन्नेबारे आइडिया सिक्न पाइयो,’ उनले भने।
राष्ट्रिय योजना आयोग र सुदूरपश्चिम प्रदेश सरकारको सहयोग तथा स्थानीय तह, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र अन्य साझेदार संस्थाको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा नवउद्यम प्रशिक्षण शिविर, डेमो डे, लगानीकर्तासमक्ष व्यावसायिक प्रस्तुति र वित्तीय पहुँचसम्बन्धी कार्यक्रमसमेत समावेश छन्।
स्थानीय स्रोतसाधन, सीप र प्रविधिको उपयोग गर्दै नयाँ उद्यम स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने तथा प्रदेशको आर्थिक विकासमा योगदान पुर्याउने सम्मेलनको लक्ष्य छ। युवालाई रोजगारी खोज्ने मात्र नभई अरूलाई समेत रोजगारी दिने उद्यमीका रूपमा विकास गर्न सम्मेलनले प्रेरित गर्ने अपेक्षा गरिएको छ।