बिनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वल्र्ड २०२६’को ताज
काठमाडौँ: ‘मिसेस नेपाल वल्र्ड २०२६’को ताज बिनिता गुरुङले जितेकी छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उनले २१ प्रतियोगीलाईपछि पार्दै उपाधि चुमेकी हुन्।
रिबन इन्टरटेनमेन्टद्वारा आयोजित विवाहित महिलाहरू सहभागी हुने ‘मिसेस नेपाल वल्र्ड २०२६’ प्रतियोगीताको छैटौँ संस्करण हो। विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व विकास, आत्मविश्वास र क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विधाका विजेताहरू पनि चयन गरिएका छन्।
जसमा शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल’ र क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’को रिचा शर्मा ‘एमएस नेपाल इन्टरनेसनल’ घोषित भए। प्रतियोगितामा नेहा गुप्ता फस्र्ट रनरअप, ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप बने।
रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षता तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाको नेतृत्वमा सम्पन्न प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, चर्चित अभिनेत्री रेखा थापा र सन् २०२४ की विजेता डा. डेलिना कार्कीलगायतका व्यक्तित्वहरू रहेका थिए। उनीहरूले प्रतियोगीहरूको प्रतिभा, आत्मविश्वास र प्रस्तुतिको सूक्ष्म मूल्याङ्कन गरेका थिए।