सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सिक्दै र कमाउँदै’ अवधारणा: पढाइसँगै फूलखेतीमा टीकापुरका विद्यार्थी

२०८३ कार्तिक १७, ११:०० खबर संवाददाता

धनगढीः तिहार नजिकिएसँगै बजारमा सयपत्री फूलको माग बढ्न थालेको छ। यही अवसरलाई लक्षित गर्दै कैलालीको टीकापुरमा विद्यार्थीले उत्पादन गरेको सयपत्री फूल बिक्री सुरु गरेका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्टमा अध्ययनरत सात विद्यार्थीले ‘सिक्दै र कमाउँदै’ अवधारणालाई व्यवहारमा उतार्दै फूलखेती गरेका हुन्।

कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने उद्देश्यले विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन्। पाँचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी उमेश बिष्टका अनुसार आफ्नै मेहनत र सीप प्रयोग गरेर उत्पादन गरिएको फूल तिहारलाई लक्षित गरी बजारमा ल्याइएको हो। ‘आफ्नै मेहनत र सीप प्रयोग गरेर उत्पादन गरिएको फूल तिहारलाई लक्षित गरी बजारमा बिक्री गर्न सुरु गरेका छौँ,’ उनले भने।

अर्का विद्यार्थी अनिल चौधरीका अनुसार यो प्रयास आम्दानी गर्ने माध्यम मात्र नभई अध्ययनका क्रममा प्राप्त ज्ञान र सीपलाई व्यावहारिक रूपमा प्रयोग गर्ने अवसर पनि हो। कृषि शिक्षालाई उत्पादनसँग जोड्ने उद्देश्यले गरिएको यस अभ्यासले भविष्यमा स्वरोजगार तथा उद्यमशीलतातर्फ अघि बढ्न प्रेरित गर्ने उनीको विश्वास छ। स्थानीयस्तरमै सयपत्री फूल उत्पादन र बिक्री गर्दा बाहिरबाट आयात हुने फूलमाथिको निर्भरता घटाउन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सहयोग पुग्ने विद्यार्थीहरूको भनाइ छ।

तिहारमा घरआँगन सजाउन, पूजाआजा तथा देउसी–भैलोमा प्रयोग हुने फूल स्थानीय उत्पादनबाटै खरिद गर्न उनीहरूले उपभोक्तालाई आग्रह गरेका छन्। विद्यार्थीले उत्पादन गरेको सयपत्री फूल कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट परिसरमा रहेको आँखा अस्पताल नजिकैबाट बिक्री भइरहेको छ।

उनीहरूले ताजा फूल उचित मूल्यमा उपलब्ध गराइने बताएका छन्। कलेजले खेतीका लागि जग्गा उपलब्ध गराएपछि विद्यार्थीले सामूहिक रूपमा फूलखेती सुरु गरेका थिए। यसले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक सीप आर्जन र आम्दानीको अवसरसमेत दिएको छ।

कमेन्ट लोड गर्नुस