कैलाली र कञ्चनपुरबाट ब्राउनसुगर र गाँजासहित चार जना पक्राउ
धनगढी: कैलाली र कञ्चनपुरबाट प्रहरीले ब्राउनसुगर र गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
कैलालीको जानकी गाउँपालिका–६ बाट ७३० मिलिग्राम ब्राउनसुगर र १३ ग्राम गाँजासहित जानकी गाउँपालिका–८ का २४ वर्षीय भुवन तिमिल्सिना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागेर जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
यस्तै, कैलालीको भजनी नगरपालिका–५ बक्तुरीघाटबाट १८ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरसहित कैलारी गाउँपालिका–४ हसुलियाका २० वर्षीय सरोज चौधरी पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।
कञ्चनपुरको बेलौरी नगरपालिका–७ टेडियाबाट ६ ग्राम ३३० मिलिग्राम ब्राउनसुगरसहित कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २३ वर्षीय जीवन पार्की पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित होल्डिङ सेन्टरको ७ नम्बर पिल्लरबाट ५.४४ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित भीमदत्त नगरपालिका–६ का ३२ वर्षीय दीपक भाट पक्राउ परेका छन्। भारतबाट स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले मंगलबार जाँच गर्ने क्रममा पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।