बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी
बैतडी: बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाइन्।
उनलाई नागरिता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन। नागरिकता नभएकै कारण उनी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भइन्। बिहीबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले उनको घरपायक पर्ने ठाउँ (ढोल्यामोड)मा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेपछि उनको अनुहारमा खुसीको सीमा नै थिएन।
“आफूलाई नागरिकता बनाउनुपर्छ भन्ने थाहा थिएन। अरु कसैले बनाउनुपर्छ पनि भनेनन्। सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुपरेको थियो”, उनले भनिन्, “अहिले बल्ल नागरिकता बनेको छ। अब त सामाजिक सुरक्षा भत्ता पाइने भयो।” ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत जिल्ला प्रशाशन कार्यालयले अपाङ्गता भएका तथा अशक्त नागरिकलाई घरमै वा घरपायक पर्ने स्थानमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिरहेको छ।
बिहीबार साउदसहित पाँच जना अपाङ्गता भएका र अशक्त नागरिकलाई उनीहरूको घरपायक पर्ने ठाउँमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिइन् । शारीरिक असक्तताका कारण नागरिकताबाट वञ्चित भएका नागरिकलाई घरपायक पर्ने स्थानमा सेवा दिने उद्देश्यले प्रशासनले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालन गरेको उनले बताइन्।
सिगास गाउँपालिका–२ का ‘क’ वर्गको अपाङ्गताभएकी मनिषाकुमारी धामी (१६ वर्ष), सोही वडाका मुकुन्दसिंह धामी (१९ वर्ष) र ‘ख’ वर्गको अपाङ्गता भएका वसन्त नेपाली (१६ वर्ष)लाई वडा कार्यालयमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै सिगास गाउँपालिका–१ का ‘क’ वर्गका अपाङ्गताभएका रन्जित भुल (१६ वर्षीय) लाई घरपायक पर्ने स्थानमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो।
वडा कार्यालयमा छोरा (मुकुन्द)को नागरिकता बनेपछि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको सिगास गाउँपालिका–२ का स्थानीय अमरसिंह धामीले बताए। “शारीरिक असक्त छोरा बोकेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुर्याउन सक्ने अवस्था थिएन”, उनले भने, “वडा कार्यालयमै नागरिकता बनेपछि खुसी लागेको छ।”
खर्च पनि बढी लाग्ने र कार्यालयसम्म पुगेर नागरिकता लिनसक्ने अवस्था नभएका अशक्त नागरिकले वडामै सेवा पाउँदा सहज भएको सिगास गाउँपालिका–२ का वडासचिव प्रताप बोहराले बताए। शारीरिक असक्तताका कारण नागरिकताबाट वञ्चित व्यक्तिलाई वडा कार्यालयले प्रशासनलाई सिफारिस गरेको र प्रमुख जिल्ला अधिकारीसहितको टोली वडा कार्यालयमा पुगेर तीनै जनालाई नागरिकता प्रदान गरिएको बोहराले जानकारी दिए।
एघार जनाले पाए नागरिकता
बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कार्यक्रम सञ्चालन भएको दुई महिनाको अवधिमा ११ जना अशक्त नागरिकलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
कार्यक्रमअन्तर्गत जिल्लाभरका नागरिकताबाट वञ्चित अशक्तको विवरण सङ्कलन गरिरहेको कार्यालयले जनाएको छ। “नागरिकताबाट वञ्चित त्यस्ता नागरिकलाई सकेसम्म उनीहरूकै घरमा अथवा वडा कार्यालयमा नागरिकता प्रदान गर्ने हिसाबले काम भइरहेको छ”, प्रमुख जिल्ला अधिकारी अर्यालले भनिन्।