तिहारमा फेरियो उज्यालोको रोजाइ, माटाका दियोको व्यापार घट्यो
धनगढीः तिहारमा घरआँगन उज्यालो बनाउने परम्परागत माटाका दियोको व्यापार यसवर्ष धनगढीमा सुस्ताएको छ।
बजारमा झिलिमिली विद्युतीय बत्ती र विद्युतीय दियोको आकर्षण बढ्दै जाँदा माटाका दियो किन्ने ग्राहक घटेका हुन्। यसले माटाका दियो बेचेर जीविकोपार्जन गर्दै आएका व्यवसायीलाई निराश बनाएको छ।धनगढीको पृथ्वीनारायण चोक नजिक माटाका दियो बिक्री गर्दै आएकी हिमा खड्काले यसवर्ष अपेक्षाअनुसार व्यापार हुन नसकेको बताइन्।
विगतका वर्षमा तिहारका बेला माटाका दियो किन्ने ग्राहकको भीड लाग्ने गरे पनि अहिले विद्युतीय दियोप्रति आकर्षण बढेको उनको अनुभव छ। तेलबिना नै प्रयोग गर्न सकिने भएकाले केही महँगो भए पनि ग्राहकले विद्युतीय दियो रोज्ने गरेको उनले बताइन्।
अर्का व्यवसायी कृष्ण बिक पनि माटोका दियोको व्यापार घट्दै गएकोमा चिन्तित छन्। विगतका वर्षको तुलनामा यसपटक ग्राहकको चहलपहल कम रहेको र थोरै संख्यामा मात्रै दियो बिक्री भइरहेको उनले बताए। आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा माटाका दियोको व्यापार मात्र नभई तिहारको परम्परागत मौलिकतासमेत हराउँदै जाने चिन्ता उनलाई छ।
व्यवसायीका अनुसार विद्युतीय बत्तीको बढ्दो प्रयोगसँगै भारतबाट सस्तो मूल्यमा माटाका दियो आयात हुने प्रवृत्तिले पनि स्थानीय व्यापार प्रभावित भएको छ। सस्तो सामान खरिद गर्न केही उपभोक्ता भारतको बनगाउँसम्म पुग्ने गरेका छन्। हाल धनगढीमा माटाका दियो प्रतिदर्जन ५० रुपैयाँमा बिक्री भइरहेको छ। तिहारमा माटाको दियो बाल्ने परम्परा उज्यालोसँगै धार्मिक तथा सांस्कृतिक आस्थासँग पनि जोडिएको छ।
घरआँगनमा दियो बाल्ने र भगवानलाई दियो अर्पण गर्ने परम्पराले पर्वको मौलिकता झल्काउँछ।माटाका दियोको प्रयोग र व्यापार घट्दै जाँदा त्यसमा निर्भर समुदायको परम्परागत पेसासमेत प्रभावित हुने देखिएको छ। आधुनिकताको आकर्षणसँगै तिहारको मौलिकता जोगाउने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने चुनौती थपिएको छ।