सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १० पुसदेखि खाना महोत्सव, स्थानीय परिकारको प्रवर्द्धनमा जोड

२०८३ मंसिर २, ०८:५६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको मौलिक खानपान र परम्परागत परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा तीनदिने खाना महोत्सव आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीको सहकार्यमा आगामी पुस १० देखि १२ गतेसम्म ‘धनगढी खाना महोत्सव’ सञ्चालन हुन लागेको हो।

महोत्सव सञ्चालनका लागि धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीबीच सम्झौता भएको छ। सम्झौताअनुसार उपमहानगरपालिकाले महोत्सव आयोजनाका लागि संघलाई १० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

महोत्सवमा सुदूरपश्चिमका मौलिक तथा परम्परागत खानाका परिकारसँगै सामान्य रेस्टुरेन्टदेखि पाँचतारे होटलसम्मका विभिन्न स्वाद र शैलीका परिकार उपलब्ध गराउने उद्देश्य राखिएको उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले जानकारी दिए। उनका अनुसार खाना महोत्सव हरेक वर्ष आयोजना गर्ने योजना रहेको बताए। उपभोक्ताले एउटै स्थानमा विभिन्न परिकार सहुलियत दरमा स्वाद लिन पाउनेछन्।

स्थानीय खानपानको संरक्षण र प्रचारप्रसारसँगै यस क्षेत्रका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय सम्भावनालाई खानासँग जोडेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य आयोजकको छ। स्थानीय कृषक तथा उत्पादकका कृषि उपज र खाद्य सामग्रीलाई बजारसँग जोड्ने उद्देश्यसमेत महोत्सवले राखेको छ।

महोत्सवमार्फत धनगढीका पर्यटकीय स्तरका होटलहरूको मेनुमा समेत सुदूरपश्चिमका मौलिक परिकार समावेश गर्ने वातावरण बनाउने आयोजकको योजना छ।

महोत्सवको भौतिक संरचना निर्माण, स्टल व्यवस्थापन, विद्युत्, सरसफाइ, प्रचारप्रसार तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन होटल व्यवसायी संघ कैलालीले गर्नेछ। उपमहानगरपालिकाले भने महोत्सवको समन्वय, अनुगमन र सहजीकरण गर्नेछ।

खाद्य स्वच्छता, फोहोरमैला व्यवस्थापन र सुरक्षालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। पेय पदार्थ तथा क्यान बियर बिक्रीका लागि छुट्टै क्षेत्र निर्धारण गरी प्रचलित कानुन र प्रशासनको निर्देशन पालना गरिनेछ।

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेयले महोत्सवले स्थानीय खानपानको पहिचान स्थापित गर्नुका साथै पर्यटन र स्थानीय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस