धनगढीमा आज ब्याण्डसहित गुञ्जिदै प्रमोद खरेल, प्रकाश सपुत र देवेन्द्र बब्लु
धनगढीः ‘अब गुन्जिन्छ नेपाल, एउटै सुर एउटै ताल’ भन्ने नारासहित सञ्चालन भइरहेको ‘सुरताल म्युजिकल टुर’ आज धनगढीमा आयोजना हुँदैछ। नेपाली संगीत, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित देशका सातवटै प्रदेशमा सञ्चालन गर्न लागिएको सांगीतिक टुरअन्तर्गत धनगढीमा कार्यक्रम हुन लागेको हो।
चलचित्र पत्रकार संघ नेपाल कैलालीको व्यवस्थापनमा शुक्रबार साँझ ५ बजेदेखि धनगढीस्थित कभर्डहलको प्राङ्गणमा कार्यक्रम सुरु हुनेछ। कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। चलचित्र पत्रकार संघ नेपाल कैलालीका अध्यक्ष विवेक नागरीले मञ्च व्यवस्थापन, सुरक्षा व्यवस्था तथा सीसीटीभी जडानलगायतका काम सम्पन्न भइसकेको जानकारी दिए। उनले दर्शकको सहभागितासहित कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको बताए।
उनका अनुसार कार्यक्रम साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा गायक प्रमोद खरेल ‘परम्परा ब्याण्ड’, प्रकाश सपुत ‘भाका नेपाल ब्याण्ड’ र देवेन्द्र बब्लु ‘दि फिरन्ते ब्याण्ड’सहित प्रस्तुत हुनेछन्।
सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको आयोजनामा सञ्चालन भइरहेको म्युजिकल टुर धनगढीसहित देशका सातवटै प्रदेशका विभिन्न स्थानमा आयोजना गरिनेछ। कार्यक्रममार्फत नेपाली संगीत र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै देशका विभिन्न भूगोलका दर्शकलाई एउटै सांगीतिक मञ्चमा जोड्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।