कांग्रेसको नाम, झण्डा र चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. प्रकाशशरण महत
काठमाडौं : नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेको छ।
१५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक हुने भएकाले पार्टीको नाम, झण्डा र चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने बताएका हुन्।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले विगतमा न्याय निरूपण प्रक्रियामा त्रुटि भएको भन्दै पुनरावलोकनका क्रममा आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे। यद्यपि, सर्वोच्च अदालतको अन्तिम निर्णय नआएसम्म आफूहरूको पक्षमा फैसला भएको भन्दै दाबी गर्नुको औचित्य नरहेको उनको भनाइ छ।
महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गर्दै महाधिवेशनबाट सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने चाहना रहेको बताए। पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनले स्पष्ट पारे।
देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरेर तयारी अघि बढाइएको महतले जानकारी दिए।