राष्ट्रसेवक सहकारीको १९औँ साधारणसभा सम्पन्न
धनगढी: राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढी, कैलालीको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष धर्मराज चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा संस्थाका सदस्य सन्तोष शर्मा थापा प्रमुख अतिथि रहेकी थिइन्।
सभामा सहकारी महासंघका केन्द्रीय सञ्चालक माधव जोशी, नेफ्स्कुनका केन्द्रीय सञ्चालक दीप्ति शाहीका प्रतिनिधि, जिल्ला सहकारी संघका पूर्वउपाध्यक्ष एवं संस्थाका पूर्वअध्यक्ष भूपेन्द्र थापालगायत सहकारी क्षेत्रका प्रतिनिधि, सल्लाहकार, सञ्चालक समिति, लेखा समिति, शेयर सदस्य तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका सञ्चालक तथा उपाध्यक्ष किशोरप्रसाद श्रेष्ठ र सहकारीका सदस्य एवं जानकारीमूलक कार्यक्रमका व्यवस्थापक प्रवेश श्रेष्ठको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरी गरिएको थियो। कार्यक्रममा धना जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
साधारण सभाका अवसरमा संस्थाको श्रीवृद्धिमा योगदान पुर्याउने कुन्जन शर्मा, ज्येष्ठ सदस्य लक्ष्मणप्रसाद श्रेष्ठ र धौली केसी, नियमित बचतकर्ता मोहनबहादुर केसी र अञ्जली ठाकुर तथा असल ऋणी राम महरा र कुन्जा भट्टलाई सम्मान गरिएको थियो।
त्यसैगरी उत्कृष्ट विद्यार्थीका रूपमा शेयर सदस्य हरिहरप्रसाद भण्डारीका छोरा ईशान भण्डारी र सदस्य कुस्माकुमारी धामीकी छोरी निलम धामीलाई सम्मान गरिएको थियो। ईशानले ऐश्वर्य उच्च माध्यमिक विद्यालयबाट ३.९२ जीपीए र निलमले ३.७९ जीपीए प्राप्त गरेका छन्।
सभाको बन्द सत्रमा लेखा समितिको प्रतिवेदन, वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। लेखा समितिका संयोजक गणेश बोहराले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष अनिता चौधरीले वार्षिक लेखापरीक्षण प्रतिवेदन र उपाध्यक्ष किशोरप्रसाद श्रेष्ठले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।
सभामा लेखापरीक्षक नियुक्ति तथा सचिव पदपूर्तिसम्बन्धी विषयसमेत छलफलका लागि प्रस्तुत गरिएको थियो।
संस्थाको १९औँ वार्षिक साधारण सभाले संस्थाको आर्थिक तथा संस्थागत गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सहकारीको विकास, सदस्यहरूको आर्थिक उन्नति तथा सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने विषयलाई प्राथमिकता दिएको छ।