‘ए मेरो हजुर ३’ मा अनमोल अनुवन्धित, झरनाकी छोरी हिरोइन
सुपरस्टार अनमोल केसी ’ए मेरो हजुर’ को तेस्रो सिरिजमा अनुवन्धित भएका छन् । शनिवार निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले उनलाई साइन गरेका हुन् । यस फिल्मबाट झरनाकी छोरी सुहानी थापाले डेब्यू गर्दै्छिन्। अनमोल आफ्नो छैठौं फिल्म ’क्याप्टेन’ को छायांकन सकाएपछि भदौबाट ‘ए मेरो हजुर ३’ का लागि समय दिनेछन् । ३० लाख बढी पारिश्रमिकमा उनलाई यो फिल्ममा अनुवन्धित गरेको खबर प्राप्त छ। लभस्टोरी जनरामा निर्माण हुने यस फिल्मलाई फेरि झरनाले नै निर्देशन गर्ने्छिन्।
अहिले फिल्मका लागि गीतसंगीत तयार पार्ने काम भइरहेको छ । यसअघि ’ए मेरो हजुर २’ अनमोलले नै काम गर्ने कुरा थियो तर पछि विभिन्न कारणले सम्भव भएन। ’क्याप्टेन’ रिलिजको ६ महिनापछि मात्र ’ए मेरो हजुर ३’ प्रदर्शन गर्ने सर्तमा अनमोलले यो फिल्म साइन गरेका हुन्। हरेक नयाँ फिल्ममा नयाँ नायिकासँग रोमान्स गर्दै आइरहेका उनको यस फिल्ममा भने झरनाकी छोरी सुहानीसँग जोडी कसिएको छ। अनमोल जोडिएका हरेक एक फिल्म दर्शकमाझ व्यग्र प्रतिक्षामा रहने गर्छ । अब ’ए मेरो हजुर’ को तेस्रो सिरिजको पनि दर्शकमा उस्तै प्रतिक्षा रहने पक्का छ । यो फिल्मलाई सञ्जय लामाले खिच्नेछन् ।
कसरी सुध्रियो अनमोल र झरनाको सम्बन्ध ?
गएको वर्ष प्रदर्शनमा आएको बल्कबस्टर फिल्म ’ए मेरो हजुर २’ का लागि अभिनेता सलिनमान बनियाँ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो रोजाईमा थिएनन् । यी दुईभन्दा अगाडि यो फिल्मको अफर अनमोल केसीसमक्ष पुगेको थियो । अनमोलले स्क्रिप्ट सुनेपछि फिल्म गर्ने मौखिक जानकारी दिए तर पछि विभिन्न कारणले उनी यो फिल्मको हिस्सा बन्न सकेनन् । अनमोलको यस्तो व्यवहारले झरना निकै दुखी भईन् । यसपछि अनमोल र झरनाको सम्बन्ध पूरै चिसिएको थियो । ’ए मेरो हजुर २’ हिट भएपछि यस फिल्मका निर्माता तथा झरनाका श्रीमान सुनिल कुमार थापा र वितरक मनोज राठीले घरमै पुगेर ’ए मेरो हजुर ३’ का लागि अनमोललाई ५० लाख पारिश्रमिकको अफर गरे ।
यो खबर भुवन केसीले मिडियामा बताइसकेका छन् ।
गोप्य कुरा मिडियामा फैलाएको भन्दै भुवनसँग सुनिल रुष्ट भए । मिडियामा झरना र सुनिलले अनमोललाई ५० लाख अफर गर्दै नगरेको स्पष्टिकरण दिँदै हिँडे ।यसैबीच गएको शुक्रवार राजधानीमा सम्पन्न ’दशौं डी सिने अवार्ड’ मा झरनाले ’ए मेरो हजुर २’ बाट उत्कृष्ट नव(निर्देशकको अवार्ड घर लैजाँदा अनमोलले ’कृ’ बाट उत्कृष्ट अभिनेताको अवार्ड चुमे ।
झरना र अनमोलले अवार्ड कार्यक्रम सकिएपछि निर्धक्क एकअर्कासँग मिडियामा फोटो खिचाएका थिए । यसपछि यी दुईको सम्बन्ध सुध्रिएको अनुमान गरिएको थियो । अन्ततः अवार्ड सकिएको दुई दिन नवित्दै अनमोलले झरना थापाले निर्देशन गर्ने फिल्म ’ए मेरो हजुर ३’ साइन गरेका छन् ।
http://www.filmykhabar.com/बाट