किन पुरुषहरु कम रुन्छन् ?
हामीले देखेको तर पूर्ण रूपमा बुझ्न नसकेको एउटा रहस्य हो, पुरुष कम रुने कारण। दुःख, आवेग, पश्चात्ताप, खुशी, प्राप्ति तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ। यो मानवीय स्वभाव हो । यस्ता क्षणमा रुनुलाई मानवका लागि फाइदाजनक मानिन्छ। तर आश्चर्यको विषय, यिनै क्षणमा पुरुष महिलाको तुलनामा अत्यन्त कम रुन्छन्।
यस विषयमा लन्डनका प्रिन्स ह्यारीले दुई वर्षअघि एउटा डकुमेन्ट्रीमा उल्लेख गरेका छन्। उनले आफ्नो उमेरको २२ वर्ष बितिसक्दा केवल आमाको मृत्युमा मात्र आँसु खसाएका थिए। ‘यही दिन पहिलोपटक रोएको थिएँ, जबदेखि मैले थाहा पाएको थिएँ, मानिसले दुःख विभिन्न तरिकाले पोख्छन्, मैले यसलाई हेर्छु र बाहिर निकाल्छु,’ ह्यारीले भनेका छन्।
प्रिन्स ह्यारीको प्रस्तुतिले ठूलो प्रश्न जन्मियो, किन पुरुष महिलाभन्दा कम रुन्छन्? प्राध्यापक एडी भिंगरहोयट्सले मानिसको आँसुको विषयमा होल्यान्डमा नयाँ अनुसन्धान गरे। उनको अनुसन्धानअनुसार महिला प्रतिवर्ष कम्तीमा ३० देखि ६४ पटक रुन्छन् भने पुरुष मात्र ६ देखि १७ पटक मात्र रुने गर्छन्।
मनोविज्ञ जर्जिया रायले पुरुष कम रुनुको पछाडि धेरै बलियो सामाजिक तथा मनोवैज्ञानिक पक्ष जिम्मेवार रहेको बताएकी छन्। ‘पुरुष महिलाभन्दा कम रुनुको पछाडि प्राकृतिक र कृत्रिम दुवै कारण जोडिएका छन,’ उनले भनेकी छिन, ‘पुरुषमा संवेग आउने ‘प्रोल्याक्टिन हर्मोन’ महिलाको भन्दा अत्यन्त कम हुन्छ, त्यसकारण यो शरीरको हर्मोनसित सम्बन्धित छ।’ त्यत्तिकै मात्रामा सांस्कृतिक कारण पनि छ। समाजले एकतर्फी रूपमा पुरुषबाट राख्ने अपेक्षाले पुरुषको संवेगात्मक आँसुलाई निरुत्साहित गर्छ। मानवको आँसु आउनुका अनगिन्ती कारण हुन्छन्। जस्तो कि दुःख, रिस, पश्चात्ताप, आनन्द, उत्सर्ग आदि।
प्राध्यापक एडी भिंगरहोयट्सद्वारा आँसुको विषयमा होल्यान्डमा गरिएको अनुसन्धानअनुसार महिला वर्षमा कम्तीमा ३० देखि ६४ पटक रुन्छन् भने पुरुष मात्र ६ देखि १७ पटक रुने गर्छन्। यी कुरा थाहा पाउन जटिल छ। आँसु किन आउँछ भन्ने विषयले वैज्ञानिकहरूलाई सयौं वर्ष आश्चर्यचकित पा¥यो। सन् १९७२ मा चाल्र्स डार्बिनले आँसुको कुनै उद्देश्य नहुने निर्णय गरेका थिए र भनेका थिए, ‘हामीले देखिरहेका हुन्छौं कि आँसु परिघटनाको परिणामको रूपमा झरेको हुन्छ यो आँखाबाट बाहिर निस्कन्छ।’ सयौं दशकपछि प्राध्यापक भिंगरहोयट्सले डार्बिनको तर्कलाई अस्वीकार गरे र उनले वैकल्पिक तर्क अघि सारे, ‘आँसु शरीरको प्राकृतिक विषादी पोख्ने माध्यम हो।’
लन्डनका डा. निक नाइटले आँसुको विषयमा पिएचडी गर्दै आवेग र संवेगले मस्तिष्कमा रहेको लिम्बिक ग्रन्थिमा सन्देश पु¥याउँछ र आँसु झर्छ। जब कोही रुन खोज्छन, उसका संवगेहरूले मस्तिष्कका नसाहरूलाई आँसु झार्ने सन्देश दिन्छ। मानसिक रोग अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अनन्तराज अधिकारीका अनुसार रुनु भनेको मनको हावा फाल्ने माध्यमजस्तै हो। जुन निस्किन पाएन भने विभिन्न मनोवैज्ञानिक समस्या उत्पन्न हुन सक्छ ।
नरुने र मनको कुरा नखोल्ने मानिसमा कतिपय अवस्थामा कडा खालको मानसिक रोग पनि उत्पन्न हुन्छ। नरुने र मनमा कुरा लुकाउने मानिसमा स्माइलिङ तथा भास्ट डिपे्रसन हुने डा. अधिकारी बताउँछन्। ‘यो रोगमा बाहिर खुसी देखिन्छ, भित्र भने डिपे्रसन भइसकेको हुन्छ,’ उनले भने। यो रोग लागेमा कतिपयले सुटुक्क आत्महत्या पनि गर्ने उनी बताउँछन्। उनका अनुसार दक्षिण एसियाली मुलुकमा पुरुषलाई सबै कुरामा बलियो रूपमा समाजले प्रस्तुत गरेकाले पनि पीडा लुकाउने या पुरुष कम रुने चलन कायमै रहेको हो । ‘यसको अन्तिम असर मनोरोगमा पुग्छ,’ उनले भने।–नागरिक न्युज