सुदूर नेपाललाई विश्वसँग जोड्दै

संगीतलाई निरन्तरता दिनेछु

२०७५ जेठ २७, ०१:३४

  अछाममा जन्मिएर बर्दियामा हुर्किएकी गायिका अनिता चलाउने लोकदोहोरी र आधुनिक गायनमा आफ्नो पहिचान स्थापित गर्न संघर्षरत छिन् । पछिल्लो समय उनको लोकप्रियता बढ्दै गएको छ । अहिलेसम्म ५० वटा गीतमा स्वर भरिसकेको उनी बताउँछिन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिर्जनाका सारथी’ नामक सांगीतिक कार्यक्रमको प्रस्तोता र निर्माताका रूपमा पनि उनले आफ्नो परिचयलाई फराकिलो बनाएकी छिन् । 
उनको स्वर रहेको ‘विनापर्मिसन दिलमा इन्ट्री मा-यो मायाले’ नामक गीत अहिले चर्चामा छ । ‘आहा मेरो मायालाई’, ‘नाचिदेऊ नाचिदेऊ कमला’, ‘मेरो जवानी’लगायतका थुप्रै गीतमा उनले चर्चित गायकसँग मिलेर स्वर भरेकी छिन् ।
०६९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि आधुनिक गायनमा होमिए पनि पछिल्लो समय उनी लोकदोहोरीमा धेरै केन्द्रित छन् । ‘लोकदोहोरीका फ्यान देश–विदेशमा हुनुहुन्छ । हाम्रो आफ्नो भाषा र संस्कृतिलाई माया गर्नेको संख्या बढेको देख्दा खुसी लाग्छ,’ उनले भनिन् ।
मध्यपश्चिम र सुदूरपश्चिमको चर्चित देउडा भाकामा उनले गाएका गीत पनि निकै चर्चामा छन् । प्रमोद खरेल, पशुपति शर्मा, रामजी खाणलगायतका चर्चित गायकसँगै गीतमा स्वर भर्न पाउँदा निकै खुसी लागेको उनी बताउँछिन् । आरआर क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर गरिरहेकी भविष्यमा पनि गीत संगीतलाई नै निरन्तरता दिने बताउँछिन् ।

कमेन्ट लोड गर्नुस