सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय गायिका आशा भोस्लेको नेपाली गीतमा झुमे दर्शक

२०७६ पुष १२, १०:४३

भारतीय गायिका आशा भोस्लेको प्रस्तुतिबाट नेपाली दर्शकले शनिबार भरपूर मनोरञ्जन लिएका छन्। 

काठमाडौँको एक होटलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए। कुर्सी भरिएपछि केही दर्शकहरु उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरेका थिए।  साधाना कला केन्द्रको आयोजनामा गरिएको सो कार्यक्रममा रञ्जित गजमेरले सङ्गीत गरेका गीतहरु घन्किए। भोस्लेले पनि गजमेरको सङ्गीतमा केही नेपाली गीतमा स्वर दिएकी छिन्।
 उनले किन बढ्दैछ ढुकढुकी मुटुको, आगेआगे तोपकै गोला, डाँडा खोलाबगर, झझल्को लिएर आएछ, माइतीघर, मोहनी लाग्ला है लगायतका गीत प्रस्तुत गरिन। मोहनी लाग्ला है गीतमा गायक रामकृष्ण ढकालले भोस्लेलाई साथ दिए।

करीब २० मिनेट गीत गाउँदा दर्शकदीर्घाबाट पटक–पटक तालीको गडगडाहट बर्सियो। दर्शकको समर्थन र हौसलाबाट उनी उत्साहित देखिन्थे। ८६ वर्षीया गायिका भोस्लेले अहिले पनि उस्तै गरी गीत गाएको देख्दा दर्शक अचम्मित भए। उनँले हरे कृष्ण हरे राम बोलको हिन्दी गीत पनि गाइन। भोस्लेले नेपालमा आउँदा पाएको सम्मान स्मरणयोग्य रहेको बताइन। उनले गजमेरलाई पटक–पटक कान्छा भनेर बोलाउँदा गजमेर निकै खुशी देखिन्थीन। उनले नेपाली अतिथिको सम्मान र सत्कारमा सधैँ अघि रहने गरेको बताइन। 

कार्यक्रममा इन्द्रजीत मिजार, भारती घिमिरे, दीप श्रेष्ठले पनि प्रस्तुति दिए। अन्य थुप्रै कलाकारले रञ्जित सङ्गीत र उनकी पत्नी कुशुम गजमेरका शब्दमा रहेका गीतहरु गाए। हल गुञ्जयमान बनिरह्यो। हेर न हेर कान्छा, चिसो–चिसो हावामा, सुन भनन, पहाडको माथिमाथि, वीरताको चिनो, टाढा भइनदेऊ फेरि, तिमी मेरो म तिम्रो, भनिदेऊ आज, यो बाटो कहाँ जाने हो, पिरतीको मिठो तिर्सना, लहनाले, पिएको त, साउने झरीमा, यो मुटुलाई, दिलमा फोटो छ लगायतका गीत विभिन्न कलाकारहरुले प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यक्रमको अभिरुचिपूर्वक अवलोकन गरेका थिए। -रासस

कमेन्ट लोड गर्नुस