पोर्चुगलमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ
पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण वर्ष २०२० एक विशेष कार्यक्रमबीच शुभारम्भ भएको छ। राजधानी लिस्बनको व्यस्त पर्यटकीयस्थल रोसियो स्क्वायरमा राष्ट्रिय झण्डा, भ्रमण वर्षको प्लेकार्ड र ब्यानर बोकेर भेला भएको नेपालीले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरु गाउँदै नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्यता र बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा जानकारी दिँदै भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरिएको हो।
नेपाली कलाकारले नेपाली मौलिक बाजा मादल, मुरली, बाँसुरी बजाउँदै राष्ट्रिय गीतहरु गाउँदा कयौँ विदेशीले चाख मारेर कार्यक्रम हेर्दै नेपालका बारेमा जानकारी लिएका थिए। भ्रमण वर्ष प्रारम्भसभामा नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले नेपाल भ्रमण वर्षको महत्व र उद्देश्यबारे बताउँदै नेपाल भ्रमण गर्न आह्वान गरेका थिए भने कार्यक्रम संवत् स्वःस्फूर्तरूपमा नेपाली सुमुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रमका संयोजनकर्ता राजकुमार थापाले बताए।
कार्यक्रम अवसरमा जनवरी १ तारिख अन्तरराष्ट्रिय नेपाली टोपी दिवससमेत परेको आ–आफ्नो शिरमा टोपी सजाएर भेला भएका महिला, पुरुष र बालबालिकाको सहभागिताले भ्रमण वर्षको प्रारम्भलाई अझ विशेष बनाएको थियो।