गीत सार्वजनिक गर्न स्क्रिप्ट बोकेर कार्यक्रममा पुगे सौगात
भर्सटायल अभिनेता सौगात मल्ल अभिनीत पछिल्ला फिल्महरु बक्सअफिसमा सफल छैनन् । फल्प फिल्मको संख्या एकपछि अर्को आफ्नो नाममा दर्ता हुँदा पनि खाली बस्नुपर्ने दुर्भाग्यबाट टाढै रहेका उनी यस वर्षको दशैंमा नयाँ फिल्म 'जय भोले' मार्फत् पर्दामा देखिँदैछन् ।
यसमा उनीसँगै खगेन्द्र लामिछाने, सलोन बस्नेत, स्वस्तिमा खड्कालगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ । हरेक महिना पर्दामा आइरहने सौगातको पछिल्लो रिलिज फिल्म 'पञ्चेबाजा' हो । गुणस्तरियभन्दा संख्या बढाउन उद्दत रहेको आरोप खेपिरहेका उनी अचेल भने यस कुरामा सचेत देखिन थालेका छन् ।
बिहीवार फिल्म ‘जय भोले’ को ‘उम्लियो भने पोखिन्छ...’ बोलको गीत सार्वजनिक कार्यक्रममा सौगात हातमा एक फिल्मको स्क्रिप्ट बोकेर पुगेका थिए । केही पत्रकारले उनलाई कुन फिल्मको स्क्रिप्ट भनेर पनि सोधे तर उनले स्क्रिप्ट नभएको भन्दै कुरा मोडे ।
उक्त स्क्रिप्ट 'कालो बाटो' नामक फिल्मको हो । यस फिल्मलाई अनिल बुढा मगरले निर्देशन गर्दैछन् । फिल्मका स्क्रिप्ट राईटर जनक घत्री मगरले निर्देशक मगरलाई ट्याग गर्दै सौगातसँग नयाँ प्रोजेक्टको विषयमा छलफल भएको भन्दै फेसबुकमा फोटोसहितको क्याप्सन लेखेका छन् ।
सौगातले उक्त फिल्म गर्ने पक्का भइरहेको खबर प्राप्त छ । निर्देशक अनिलले यसअघि ‘लोम्बा’ नामक फिल्म निर्देशन गरिसकेका छन् । निर्देशक मगरले फिल्मका लागि सौगात मल्लसँग विभिन्न चरणमा वार्ता भएपनि फाइनल नभएको बताए ।