ग्याप गरेर फिल्म खेल्छु-दयाहाङ
गएको वर्षसम्म अभिनेता दयाहाङ राईका नयाँ फिल्मले हरेक महिना सिनेमा घरमा आफ्नो उपस्थिति टुटाएनन् । उनी स्वयमलाई आफू अभिनीत कुन फिल्म कहिले रिलिज हुँदैछ अत्तोपत्तो हुँदैन थियो । यसबीच पनि 'कान्छी', 'मिस्टर झोले' फिल्म गएको वर्षको हिट लिस्टमा दरिए ।
उनी अभिनीत पछिल्लो फिल्म 'नेप्टे' हो, जुन गएको चैत ३० गते प्रदर्शनमा आएको थियो । पछिल्लो समय उनी पैसामुखी बन्दै गएको आरोप छ । महिनैपिच्छे हलमा आफ्नो उपस्थिति जनाइराख्दा बाँकी रहेको स्टारडम पनि चौपट हुने अवस्थामा छ ।
यसैबीच, उनी अभिनीत नयाँ फिल्म 'भैरे' साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 'नेप्टे' रिलिजको ठिक ४ महिनाको अन्तरमा रिलिज हुन लागेको यो फिल्मप्रति दयाहाङ स्वयम आशावादी देखिन्छन् । यसकारण पनि उनले 'भैरे' का हरेक कार्यक्रममा आफ्नो उपस्थिति जनाइरहेका छन् ।
हालैमात्र 'आप्पा' नामक फिल्मको छायांकन भ्याएका उनी अब भने केही ग्यापमा फिल्म गर्ने मनस्थितिमा छन् । लगातार फिल्म गर्नु करिअरका लागि निको नहुने देखेपछि उनी अब एक फिल्मको छायांकन पूरा गरेपछि मात्र नयाँ फिल्ममा हात हाल्ने बताउँछन् ।
सोमवार फिल्म 'भैरे' को ट्रेलर सार्वजनिक कार्यक्रममा उनलाई पत्रकारले 'फिल्म कम गर्न थाल्नुभएको हो ?' भन्दै प्रश्न गरे । जवाफमा दयाहाङले भने, 'मलाई पनि मेरा फिल्म लगातार रिलिज हुन् भन्ने लाग्दैन । ग्यापमा फिल्म गर्दा पनि कहिले काँही रिलिज भने लगातार जस्तै भइदिन्छ ।'
उनले भोलीका दिनमा भने सेड्युल मिलाएर मात्र फिल्म गर्ने बताए । उनी थप्छन्, 'आप्पा', 'नीरफूल' पछि अब 'साइँली' गर्दैछु । केही महिनाको ग्यापमा म यी फिल्म गर्दैछु । यसकारण रिलिज नजुध्लान् भन्नेमा आशावादी छु ।'
उनले भैरेको कथा मनपरेका कारण काम गरेको बताए । 'निर्देशक एभरेष्ट सूर्य बोहराले यसअघि 'मुटु' फिल्मकोे स्क्रिप्ट लिएर आउनु भएको थियो । मैले त्यो फिल्म मेरो टाइपको नभएको भनेर अस्वीकार गरे । 'भैरे' को स्क्रिप्ट भने मलाई चित्त बुझ्यो अनि गरेँ', उनले भने ।
यस फिल्ममा दयाका अलावा बुद्धि तामाङ्ग, वर्षा सिवाकोटी, सुरक्षा पन्त विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ ।