सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाँतलाई यसरी बलियो र चम्किलो बनाउनुहोस्

२०७६ माघ १९, ११:५५

दाँतको मूख्य काम खानेकुरा चपाउनु हो। यसर्थ दाँतको सम्बन्ध सम्पूर्ण शारीरिक स्वास्थ्यसँग पनि छ। किनभने जब दाँतले राम्ररी चपाएर खाइन्छ, तब पाचन प्रक्रिया सहज रुपले हुन्छ। राम्ररी चपाएर खानेकुरा सेवन गर्दा त्यसमा रहेको पोषक तत्व शरीरले सहज रुपमा ग्रहण गर्छ। पाचन यन्त्रलाई अनावश्यक भार पर्दैन। यसरी खानेकुरालाई टुक्रा–टुक्रा गर्नका लागि बलियो दाँत चाहिन्छ। बलियो दाँत मात्र भएर पनि पुग्दैन, सफा र स्वस्थ्य पनि हुनुपर्छ। किनभने दाँत फोहोर भयो भने हामीले ज–जति खानेकुरा खान्छौं, त्यो सबै दुषित हुन्छ। मुखमा खानेकुरा चपाउन थालेपछि त्यो सफा हुनुपर्छ। यसका लागि मुख तथा दाँत पनि सफा हुनुपर्छ।

कवि, कलाकारले सौन्दर्यको वर्णन गर्दा दाँतको प्रसंग पनि उल्लेख गर्ने गर्छन्। कुनै युवती वा युवक राम्रो छ भनेर पुष्टि गर्नका लागि उनीहरुको दाँतको पनि व्याख्या गरिन्छ। ‘मिलेका दाँतका पंक्ति’, ‘अनारदाना जस्तै मिलेका दाँत’ यस्तै–यस्तै। दोर्होयाइरहनु परेन, दाँत सौन्दर्यकै एउटा हिस्सा हो। समग्र अनुहारकै सौन्दर्यमा दाँतको अहंम् भूमिका हुन्छ। नमिलेका, फोहोर, दुर्ग्न्धित दाँतले सौन्दर्य नै बिगारिदिन्छ।

दाँतलाई आकर्षक राख्नुपर्छ। बलियो पनि। दुबैको लागि अरु केही गर्नुपर्दैन, केवल सरसफाईमा ध्यान दिए हुन्छ। दाँत त्यसबेला खराब हुन्छ, जब त्यसको सरसफाईमा ख्याल गरिदैन। खानेकुरा खाएपछि त्यसको टुक्रा दाँतमा रहन्छ। खानेकुराको लेउ दाँतमा टाँसिएर बस्छ। यस्ता टुक्रा तथा लेउलाई हटाउनुपर्छ। त्यसको लागि सजिलो र प्रचलित उपाय हो, दाँत ब्रस गर्नु।

खाना खाएपछि ब्रस गर्नुपर्छ। सामान्यतः हामी दिनमा दुई पटक भात खान्छौं। बिहान र बेलुकी। खाना खाइसकेपछि दुई पटक नै दाँत ब्रस गर्नुपर्छ। दिनभर खाजा, नास्ता गरेपछि ब्रस गरिरहने अनुकुलता नमिल्न सक्छ। त्यसैले कुनैपनि खानेकुरा खाइसकेपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ। हामी धेरैजसो बिहान उठ्नसाथ ब्रस गर्छौं। हामीलाई लाग्छ, उठेपछि मुखको गन्ध हटाउन ब्रस गर्नुपर्छ। तर, यतिबेलासम्म राती खाएको खानाको टुक्रा सड्ने, गल्ने, कुहिने प्रक्रिया सुरु भइसकेको हुन्छ। दाँतमा जिवाणुहरु फैलिइसकेको हुन्छ। त्यसैले बिहान दाँत ब्रस गर्नुको खास अर्थ छैन।

खाना खाइसकेपछि ब्रस गर्नु सबैभन्दा उपयोगी तरिका हो। खाना खाएपछि दाँतमा अल्झिएको खानेकुराको टुक्रा, लेउ आदि हटाउनका लागि ब्रस गर्नुपर्छ। ब्रस गर्ने पनि विधी छ। समयसीमा छ। पेस्टको गुणस्तर, ब्रसको गुणस्तरले पनि यसमा भूमिका खेल्छ। जुनसुकै किसिमको ब्रसले दाँतको सफाई प्रभावकारी ढंगले गर्दैन। खासमा दाँतमा रहेको फोहोर सफा गर्नका लागि मुलायम ब्रस चाहिन्छ। खासमा नाइलनको रेशा भएको ब्रस ठिक हुन्छ। यसले गिजालाई असर नगरी दाँतमा चेपिएर रहेको खानेकुरा पखाल्न सहयोग गर्छ।

हामी एउटै ब्रस त्यसबेलासम्म प्रयोग गर्छौ, जतिबेलासम्म त्यो काम नलाग्ने हुन्छ। तर, यस किसिमको हेलचेक्राइले हाम्रो दाँत नै काम नलाग्ने बनाइदिन्छ। त्यसैले टुथ ब्रस निश्चित अवधीपछि बदल्नुपर्छ। दुई वा तीन महिनामा ब्रस बदल्नै पर्छ। अहिले दाँतको सुरक्षा, सफाई आदिको लागि विभिन्न प्रविधि र विधी प्रयोगमा छन्। यद्यपी कृतिम तरिकाले दाँतलाई बलियो बनाउने भन्दा प्राकृतिक रुपमै स्वस्थ्य बनाउनु राम्रो हो। दाँतलाई बलियो, स्वस्थ्य र सफा बनाउनका लागि सही समयमा सही ढंगले सफाई गर्नुपर्छ। अर्थात ब्रस गर्नुपर्छ।

कतिपय खानेकुराले दाँतलाई कमजोर बनाउँछ। जस्तो कि, गुट्खा, पराग, पान, सुपारी, चुरोट आदिले दाँतलाई कुरुप र कमजोर बनाउँछ। धेरै तातो खानेकुरा वा धेरै चिसो खानेकुरा पनि दाँतको लागि अनुकुल मानिदैन। मध्यम तापमानको खानेकुरा उपयोगी हुन्छ। भिटामिन डि युक्त खानेकुराले दाँतलाई बलियो बनाउँछ। दाँतको सफाईसँगै गिजाको मसाज गर्ने विधी पनि निकै प्रभावकारी हुन्छ। अतः दाँतलाई केहि घरेलु विधीबाट पनि सफा गर्न सकिन्छ। यस सम्बन्धमा थप सामाग्री हामीले पेश गरिसकेका छौं।
 

कमेन्ट लोड गर्नुस