२० वर्ष नपुग्दै विवाह : अधिकांश शिशु कुपोषित
सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिइन्। उनी एक वर्षमै बच्चाको आमा बनिसकेकी छिन्। सुत्केरी हुन स्वास्थ्य संस्था पुग्नुभएकी उनलाई स्वास्थ्य संस्थाले थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा पठायो। प्रदेश अस्पताल सुर्खेतमा उनको बच्चा जन्मियो तर, बच्चा कम तौलको थियो। उनको बच्चाको तौल जम्मा एक किलो ७०० ग्राम मात्रै छ।
१५ दिनकी सुत्केरी उनी राम्रोसँग बोल्न पनि सकिरहेकि छैनन्। “लामो व्यथा लागेकाले मलाई केही थाहा भएन”, उनले भने, “बच्चाको अवस्था कस्तो छ र हुनुपर्ने कस्तो हो त्यो विषयमा केही थाह छैन।” विद्यालय पढ्दापढ्दै गाउँकै एक युवकसँग प्रेम विवाह भयो, कलिलो अवस्थामा आमा बनेकी उहाँलाई आमा हुँदा के–के गर्नुपर्छ राम्रोसँग जानकारी छैन।
१७ वर्षमा विवाह बन्धनमा बाँधिनुभएकी सुर्खेत वीरेन्द्रनगर–६ की तुलसा सिंहको पहिलो सन्तान जीवित रहेन। गर्भवती भएको सात महिनामै जन्मिएको बच्चा बचाउन नसकिएको उनले बताइन्। पहिलो सन्तान बितेको एक वर्षको अन्तरालमा लगातार दुई वटा सन्तान जन्मिए। पहिलो सन्तान छोरा जन्मिएको एक वर्षपछि छोरी जन्माइन् तर, उनको छोरी कुपोषित भइन्। वर्षेनी बच्चा जन्माइरहने र आमालाई पोषणको कमी हुँदा उनका जन्मिएका बच्चा कुपोषित भएका हुन्।
“राम्रोसँग बच्चालाई खुवाउने दूध नआएकाले छोरीलाई कुपोषण भयो”, उनले भनिन्, “छोरीले दूध खुवाउँदा पनि नखाने गर्नाले पनि कुपोषण भयो छोराको त अवस्था ठीकै छ।” छोरी कुपोषण भएपछि उनी उपचारको लागि प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा पुगिन्। अहिले उनले विगत एक महिनादेखि पुनःस्थापनागृहबाट छोरीको उपचार गराईरहेकि छिन्।
दैलेख पाचिकाडाकी सुन्तली शर्मा पनि कुपोषित बच्चालाई पुनःस्थापनागृहमा राखेर उपचार गराईरहेकी छिन्। सुन्तलीको १८ वर्षको हुँदा विवाह भयो १९ वर्षको हँुदा पहिलो सन्तानलाई जन्म दिइन् “मेरो उमेर नपुगेर मैले विवाह गरे बच्चा जन्माउने बेला धेरै पीडा भयो”, उनी भन्छिन्, “घरमा घाँस दाउरा गरिरहनुपर्ने कामैकाम दूध खुवाउने पनि फुर्सदै पाइन।” उनले न त आफूले पोषिलो खाना खान पइन् न त छोरीलाई राम्रोसँग दूध खुवाउन। यसले गर्दा उनको छोरीलाई कुपोषण भयो।
कर्णाली प्रदेशमा कलिलै उमेरमा विवाह गरेका आमाबाट जन्मिएको अधिकांश बच्चामा कुपोषणको समस्या देखिएको छ। कम उमेरमा बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने विषयमा जानकारी नहुँदा कम उमेरमा बच्चा जन्माउने प्रवृत्ति अन्त्य हुन सकेको छैन। कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा २० वर्षमुनिका बच्चाको आमा प्रायः आउने गरेका छन्।
पुनःस्थापना गृहका प्रमुख प्रभा सिंहले पुनःस्थापना गृहमा आउने अधिकांश आमा २० वर्षमुनिको रहेको बताए। “हामीले आमाको छुट्टै रेकर्ड नराखे पनि यहाँ आएकालाई सोधपुछको क्रमबाट पनि उनीहरु २० वर्षमुनिका रहेको पाइन्छ”, उनले भने, “यस वर्षबाट बच्चासँगै आमाको पनि छुट्टै रेकर्ड राख्ने तयारी गरेका छौँ।” पोषणगृहको तथ्याङ्कअनुसार यस आर्थिक वर्षको साउनयता ६० बालबालिका उपचार गर्न पोषणगृहमा आएको छन्। ती मध्ये २१ बालिका र ३९ बालक रहेका छन्।
शीघ्र कुषोषण भएका ३१ र मध्यम कुपोषण भएका २९ बालबालिका थिए। प्रमुख सिंहका अनुसार ४७ बालबालिका निको भएर गएका र छलाई अन्यत्र रिफर गरिएको छ। कुषोषणमा प्रायः पाँच वर्षमुनिका बालबालिका पर्ने गरेको जनाइएको छ। आव २०७५÷०७६ मा मात्रै गृहमा १०३ बालबालिका आएका थिए। “कुपोषण पुनःस्थापना गृहमा आएका आमा र बालबालिलाई हामीले विभाजन गरेर राख्ने गरेका छौँ” उनले भने, “अघिल्लो वर्ष शीघ्र कुपोषण भएका ६५ र मध्यम कुपोषण भएका ३८ आएका थिए कोही पूर्णरुपमा निको भएर गए भने कोहीबीचमै भागेर गएका थिए।”
कर्णालीमा बालविवाहको दर बढ्दो छ। प्रसूति हुन स्वास्थ्य संस्थामा आउने एक चौथाइभन्दा बढी किशोरी रहेको तथ्याङ्क छ। भेरीगङ्गा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सीता शर्माका अनुसार नगरपालिकामा प्रसूति हुने झण्डै आधा सङ्ख्या २० वर्षमुनिको आमा रहेको बताए। “सुर्खेतमा बालविवाहको अवस्था भयावह छ”, उनले भने, “जसले गर्दा कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या धेरै छ। सानै उमेरमा बच्चा जन्माएका कारण पहिलो त आमा र बच्चाको ज्यान नै खतरामा पर्ने गर्दछ । बाचेका बच्चा पनि कुपोषत हुनुको साथै विभिन्न रोग तथा सङ्क्रमणबाट ग्रसित हुने गरेका छन्।”
प्रदेश अस्पतालका प्रमुख डा डम्बर खड्काका अनुसार अस्पतालमा प्रसूतिमा जटिलता आउने अधिकांश २० वर्षमुनिका रहेको बताए। “म आफैँले यो अस्पतालमा काम गरेदेखि यता धेरै डेलिभेरी महिलाको अप्रेशन गरेको छु जुन १९ वर्ष भन्दामुनिका आमाहरु धेरै छन”, उनले भने, “बच्चाको उनीहरुको जन्म अन्तर पनि खासै फरक देखिँदैन।” अस्पतालमा आउने धेरै आमालाई जन्म अन्तर कम्तीमा पनि पाँच वर्षको फरक पार्नु पर्छ भनेर सल्लाह दिने गरेको अस्पतालले जनाएको छ।
“पहिलो र दोस्रो बच्चाको जन्मान्तर छोटो समय मात्र राख्नु यो ठाँउको संस्कारको रुपमा विकास भएको छ जस्तो लाग्छ”, प्रमुख डा. खड्काले भने, “यसलाई राज्यस्तरबाट कानूनी बाटो नपनाए यसले भविष्यमा ठूलो खतराको रुप लिन पनि सक्छ।” बालविवाहको विषयमा विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गरेर अध्यापन गराउनुपर्ने जरुरी रहेको डा. अर्चना कार्कीले बताए। “म आफू एक डाक्टर मात्रै होइन म एक आमा पनि हो”, उनले भने, “त्यसैले अहिले गाउँगाउँमा युवायुवतीलाई छिटो विवाह गरे पछि के हुन्छ र धेरै ढिलो विवाह गरे के हुन्छ यसको बारेमा सरकारको तर्फबाट शिक्षा दिन जरुरी छ।”
बालरोग विशेषज्ञ डा. नवराज केसीले भन्नुभयो “बालविवाह अन्त्य गर्न राज्यस्तरबाट नसोच्ने हो भने आउने पिँढी पूरै बौद्धिकता गुमाएको हामी भेट्ने छौँ। बच्चा कस्तो बनाउने र त्यसलाई कस्तो शिक्षा दिने यी सबै कुरा आमाको हातमा भएकोले विशेष गरी आमाले धेरै कुराको ध्यान दिन जरुरी रहेको छ।” रासस