यी मानिस, जो नुनकै घरमा बस्छन नुन नै खान्छन्
इथोपियाको एल साँदका मान्छेहरु नुन मात्र खान्छन् र नुनकै घरमा बस्छन्। केही वर्ष अगाडि ज्वालामुखी विस्फोटन भएकाले यो ठाउँ १ दशमलव ८ किलोमिटरको पोखरीमा परिवर्तित भएको थियो। यो पोखरीको पानी अत्याधिक नुनिलो भएकाले यसको प्रयोग केवल नुन बनाउन मात्र गर्न सकिन्छ।
एल साँदलाई साल्ट हाउस पनि भनिन्छ। यहाँका मानिसहरु नुनकै व्यापार गर्ने गर्छन्। यहाँको नुन सोमालिया, केन्या लगायत विभिन्न देशमा पठाइने गरिएको छ। उक्त पोखरी निकै ठूलो भएकाले यहाँबाट नुन निकाल्न त्यति सजिलो छैन। उक्त स्थानमा जानका लागि एक घण्टा पैदल यात्रा गर्नुपर्छ र त्यहाँको बाटो पनि निकै अफ्ठ्यारो भएकोले मान्छेहरु खतरा मोलेरै काम गरिरहेका छन्। पानीबाट जोगिन यहाँका मानिसहरुसँग राम्रो बन्दोबस्त नभएकाले आफ्नो नाक र मुख बचाउन उनीहरु प्लास्टिकको झोला प्रयोग गर्छन्।
आँखालाई बचाउन नसकेकाले उनीहरुमा अन्धोपनाको समस्या देखिन थालिएको छ। यहाँका बच्चाहरु समेत जीवनको खतरा मोलेर भएपनि यस्तो जोखिमयुक्त काम गर्न बाध्य छन्। जीविकोपार्जनका लागि नुन निकालेर बेच्न बाहेक अरु कुनै उपाय नभएकाले हेर्दा सुन्दर देखिने यस पोखरीमा उनीहरु खतरा मोलेर काम गरिरहेका छन्। उनीहरुले आफू बस्ने घर पनि नुन बाटै बनाएका छन्।