यस कारण मान्छे झुटो नबोली बस्न सक्दैन
हामीले दिनमा कतिपटक झुटो बोल्छौँ र त्यस्तै झुट अरुले हामीसँग कत्तिको महसुस गरिरहेका हुन्छन् ? वास्तवमा दैनिक जीवनमा मान्छेले हामीले सोचेभन्दा धेरै झुटो बोल्ने गरेका छन्। हामी किन यस्तो गर्छौँ ? यसका पछाडि थुप्रै कारणहरु रहेको पल सिगर बताउँछन् जो ‘वुड आइ लाइ टु यु’ का लेखक हुन्। विशेषगरी मान्छेले व्यक्तिगत स्वार्थका, सजायँबाट पन्छिन, छल गर्न, रिवार्ड पाउनका लागि झुट बोलिरहेका हुन्छन्।
उनका अनुसार ‘ह्वाइट लाइ’ अर्थात कसैको भावनालाई चोट नपुग्ने हानिरहित झुट वास्तवमा हाम्रो जीवनलाई सहज बनाउने माध्यम बनिसकेको छ। किनकी हामी हरेक समय साँचो मात्र बोलिरह्यौँ भने यो समाजमा धेरै समय टिक्नै सक्दैनौँ। त्यस्तै हामीसँग २४ घण्टा भन्दा लामो समयका लागि कुनै साथी हुँदैनथिए होला। यसबीच बेलायतको तथ्याङ्क हेर्दा त्यहाँका ६१ प्रतिशत पुरुष र ६० प्रतिशत महिलाले कसैको भावनालाई ठेस नपुर्याउने किसिमका झुट स्वीकार्य हुने बताएका छन्। त्यस्तै २५ प्रतिशत महिला र २२ प्रतिशत पुरुषले चाहिँ आफ्नो गलती लुकाउन बोलिने झुट पनि ठीकै रहेको बताएका हुन्।
यसरी मान्छेहरुले कुनैपनि सम्भावित हानिबाट बच्न र प्रतिफल पाउनका लागि पनि अत्याधिक धेरै झुट बोलिरहेका हुन्छन्। जस्तै कि राम्रो जागिर पाउन आफ्नो सीभीमा झुट लेखिरहेका हुन सक्छन्। प्रायःले अरुलाई आफ्नो पक्षमा पार्न र प्रभावित गर्नका लागि एकदम धेरै झुट बोलिरहेका हुन्छन्। यसरी ३९ प्रतिशत पुरुष र ४० प्रतिशत महिलाको धारणामा कामबाट समय निकाल्नका लागि झुट बोल्नु स्वीकार्य हुनुपर्छ। यसमा १६ देखि ३४ वर्षका आधा भन्दा धेरै युवाहरुले सो प्रकारको झुटमा कुनै हानि नभएको बताएका हाुन्।
त्यस्तै हामी किन ठुल्ठुला झुटहरु चाँडै विश्वास गर्छौँ भन्ने अर्को प्रश्न पनि आउँछ। युनिभर्सिटी अफ क्यालिफोर्नियाकी जर्ज लेकफका अनुसार हामी सामाजिक मेलमिलापकै लागि व्यक्तिगत विश्वासका आधारमा प्रमाणलाई भिन्दै तरिकाले व्याख्यागरि अरुसँग समान धारणा राख्ने निरन्तर प्रयास गरिरहेका हुन्छौँ। किनकी समाजको सोचभन्दा फरक कुरा गरेमा आफू बेवास्ता भइने वा अरुको विरोधको शिकार हुने डर हुन्छ। यसकारण पनि हाम्रो समाज एकै दिशामा अगाडि बढ्न सकिरहेको छ।
त्यस्तै आफ्ना पत्नी , पति वा प्रेमीलाई भने भिन्दै किसिमले झुट बोलिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ। अध्ययनका अनुसार विवाहपछि हामीले आफ्नो पार्टनरसँग गर्ने १० मध्ये एउटा अन्र्तक्रिया झुट हुने गरेको छ। अझ पहिलोपटक चिनजान गर्ने क्रममा नयाँ मानिससँग बोल्दा त हामीबीच हुने कुराकानीमा आधा भन्दा धेरै सत्य नहुने गरेको पत्ता लागेको हो। यसरी मान्छेले सबैभन्दा धेरै ‘ह्वाइट लाइज’ अर्थात अर्काको चित्त नदुखाउन झुट बोल्ने गरेका छन्। जस्तै कसैले भर्खर खरिद गरेको लुगा वा आफूले कोरेको सबैभन्दा राम्रो चित्र देखाउँदै गर्दा हामीले केही नसोची सकारात्मक प्रतिक्रिया दिइरहेका हुन्छौँ।
यसरी हामीले बाल्यकालमा झुट बोल्न सिक्दा ‘थेउरी अफ माइन्ड’ भन्ने मानसिकताको प्रयोग गरिरहेका हुन्छौँ। जसले हाम्रो उद्देश्य, अरुप्रतिको हाम्रो विश्वास र हाम्रो आफ्नो बुझाइलाई दर्शाउँछ। त्यसै क्रममा हामीले योजना बनाउने र आत्म नियन्त्रण जस्ता शीप पनि सिक्दै गइरहेका हुन्छौँ। जसले हामीलाई पत्यारिलो झुट बोल्न सिकाउँछ। युनिभर्सिटी अफ मेसेचुसेट्सका अनुसन्धानकर्ता रोबर्ट फेल्डम्यानका अनुसार हामीले यति धेरै झुट बोलिरहेका हुन्छौँ कि हामी आफैँलाई त्यसको गन्ति र गति थाहा हुँदैन। उनले गरेको सर्वेक्षणमा सहभागी मानिसहरुले पहिलोपटक भेट गर्दा प्रत्येक १० मिनेटको कुराकानीमा तीनपटक सम्म झुट बोलेका हुन्। यसमा उनीहरु पछि त्यो भिडियो नहेरेसम्म आफूले त्यति धेरै झुट बोलिरहेकाबारे आफैँ सचेत नरहेको पाइएको हो।
यसबारेमा उनले भनेका छन, “हामीले आफूले आफूलाई अत्यन्तै इमान्दार, सच्चा र विश्वसनीय मान्छे सोचिरहेका हुन्छौँ। यही कारणले पनि हामीले आफू कतिपटकसम्म झुट बोलिरहेका हुन्छौँ भन्ने ट्रयाक राख्न सक्दैनौँ।” आफ्नो बारेमा आफूलाई राम्रो महसुस गराउन लागि नै मान्छेले यस्तो गरिरहेको हुन्छ। तर कुनै कुनै समयमा झुट हाम्रो नियन्त्रण भन्दा बाहिर जान सक्छ। जस्तै कि हामीलाई कुनै सामाजिक अवस्थामा झुट बोल्नाले केही फरक पर्दैन जस्तो लाग्छ। कसैलाई आज तपाईँ राम्रो देखिनुभएको छ भन्नमा कुनै हानि छैन भन्ने सबैको मान्यता हुन्छ। तर हाम्रो त्यही झुट सोचेजस्तो हानिरहित नहुन पनि सक्छ।
किनकी ससानो कुरामा पनि झुट बोल्न थाल्नुले हामीमा खराब बानी विकसित गराउन सक्छ। उदाहरणका लागि धेरै झुटहरु सानोबाट सुरु भएर पछि ठूलो बन्दै जान्छन् अनि नियन्त्रण भन्दा बाहिरको अवस्थामा पुग्छन्। त्यसैगरी झुट बोलिसकेपछि कतिपय मानिसहरुलाई नराम्रो पनि लाग्ने गरेको छ किनभने झुटलाई हामीले अनैतिक ठान्छौँ।
तर पटकपटक त्यही अनुभूति भइरहनुले हाम्रो पछुतोको भावनालाई कम गर्दै लैजान्छ जसपछि हामी निश्चिन्त भएर जस्तोसुकै झुट बोल्न अफ्ठ्यारो मान्दैनौँ। त्यसैले कसैको सानो झुटलाई हामीले बेवास्ता गर्यौँ भने समयसँगै उनीहरु झन बेइमान बन्दै जाने सम्भावना बढी हुन्छ र ठूलो अपराधमा समेत संलग्न हुन सक्छन्। जस्तै बालबालिकाहरुले ससानो झुट बोल्दा उनीहरुलाई पहिले रोक्यौँ भने मात्र समयसँगै नकारात्मक प्रभावको जोखिम कम हुँदै जानेछ। बीबीसी