सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भारत सहित तेस्रो मुलुकबाट फर्किएकाहरुको नमूना संकलनमा ढिलाई

२०७६ चैत्र १९, ०१:३२ जनक विष्ट

सुदूरपश्चिमका आधिकारिक सीमानाका भएर कोरोना भाईरस (कोभिड–१९) प्रभावित छिमेकी मुलुक भारतबाट झण्डै डेढ लाख भित्रिएको सरकारी तथ्याङक छ। त्यसमा ठुलो संख्या प्रदेश भित्रकै रहेको बताईएको छ। आधिकारिक सीमानाकाका अतिरिक्त अवैध रुपमा प्रदेशमा प्रवेश गरेकाहरुको संख्या पनि उतिकै रहेको अनुमान गरिएको छ।

तर प्रदेशभर अहिले सम्म ४४ जनाको नमूना संकलन गरिएकोमा एक जनामा कोरोनाको संक्रमण देखिदा  २७ जनाको रिर्पोट नेगेटिभ आएको छ। १६ जनाको रिर्पोट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बताएको छ। स्थानीय तहहरुले घर घरमा पुगेर बाहिरबाट आएका व्यक्तिहरुको शरिरको तापक्रम मात्र मापन गरिरहेको छन्।

तर नमूना संकलनको काम अझै भएको छैन्।  धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा उप–संयोजक लक्ष्मी उपाध्यायले भारत सहित तेस्रो मुलुकबाट फर्किएकाहरुको घर–घरममा पुगेर थर्मामिटरले शरिरको तापक्रम मापन गरिरहेको बताए। उनले तापक्रम मापन गरिएपनि नमूना संकलन भने नभएको बताए।

‘अहिले हामी तापक्रम परिक्षण गरेर सेल्फ क्वारेन्टाईनमै बस्न आग्रह गरिरहेका छौँ। ’ उनले भने। विश्व स्वास्थ्य संगठनले समेत कोरोनाको संक्रमण पत्ता लगाउन परिक्षणलाई तिव्र बनाउनुपर्ने बताईसकेका बेला सुदूरपश्चिममा भने खासै प्राथमिकता दिन नसकेको देखिएको हो।

प्रदेश भित्रै कोरोना भाईरसका सम्भावित तथा शंकास्पद विरामीको नमूना संकलन गरी परिक्षण गर्न चाहिने प्रयोगशाला सञ्चालन नआउँदा समस्या भएको दावी गरिएतापनी नमूना संकलनको काम समेत नभएको हो। अहिले प्रदेशभर भारत सहित तेस्रो मुलुकबाट आएका एक हजार ४ सय बढिलाई अनिवार्य क्वारेन्टाईनमा राखिएको छ। 

लकडाउनको अवधीमा अन्यत्रबाट प्रदेशमा आएकाहरुको पहिचान गर्दैै उनीहरुको परिक्षण गरेमा थप संक्रमण फैलिन नपाउनेतर्फ सम्बन्धीत निकाय चनाखो बनेका छैनन। सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरीटेन्डेन्ट समेत रहेका डाक्टर गणेशबहादुर सिहले लकडाउनको समयमा सरकारले भारत सहित तेस्रो मुलुकबाट भित्रिएकाहरको नमूना संकलन गरी परिक्षणमा जोड दिनुपर्ने बताए।

तर त्यसो नगरिएका कारण जोखिम बढ्ने चिन्ता डाक्टर सिहको छ। ‘पहिलो चरणमा भारत सहित तेस्रो मुलुकबाट फर्किएका सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्नुपथ्र्यो त्यसमा हामी चुक्यौँ।’ उनले भने, ‘तर अब त्यसरी आएकाहरुको पहिचान गरी परिक्षणलाई तिव्रता दिनुपर्ने थियो, त्यो पनि देखिएन। यसले स्थिती भयाबह बन्न सक्छ।

अझै पनि केही बिग्रिएको छैन्। परिक्षण बढाऔँ। ’नमूना संकलनको काम मात्र नभएर सुदूरपश्चिमका स्थानीय तहहरुमा स्थिती भयाबह बन्यो भने कसरी व्यवस्थापन गर्ने भन्ने पूर्व तयारीको समेत अभाव देखिएको छ। स्थानीय तहका जनप्रतिनिधीहरु लकडाउन भएकै पहिलो सातामै विभिन्न संघसंस्थाले विपन्न समुदायका लागि उपलब्ध गराउने राहात समाग्री वितरण गर्नमा केन्द्रीत भएपनि आन्तरिक तयारी नभएको देखिएको हो।

प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा कोरोना रोकथामका लागि अहिले सम्म कुनै छुट्टै कोष नै खडा गरिएको छैन्। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले आफू लकडाउनका कारण काठमाडौँबाट कार्यालय फर्किन नपाउँदा समस्या भएको बताए।

‘छुट्टै कोरोनाको रोकथाम तथा व्यवस्थापनका लागि कोष स्थापना गर्ने विषयमा कुनै छलफल भएको छैन्।’  उनले भने, ‘काठमाडौँमा छु, फोनबाटै सल्लाह गर्ने कुरा पनि भएन।’ तर अन्य विषयमा भने निरन्तर समन्वय भईरहेको सापकोटा बताउँछन्।

तर गोदावरी नगरपालिकाले भने सम्भावित जोखिमलाई मध्यनजर गरी एक करोडको आपतकालीन कोष खडा गरिएको दावी गरेको छ। गोदावरी नगरपालिकाका मेयर हरी साउँदले कोरोनाको जोखिम व्यवस्थापनका लागि एक करोडको कोष खडा गरी सम्बद्ध सबैसँग सहयोगका लागि अपिल समेत गरिएको बताए।

 कोरोनाको संक्रमण उच्च भईहालेमा राहात तथा उद्दारको आवश्यक पर्ने भएपनि तत्काल भने नमूना परिक्षणमा बढि जोड दिनुपर्ने सुझाव दिईएको छ। परिक्षणलाई उच्च प्राथमिकतामा राखेकै कारण विकसीत मुलुकहरुमा हजारौँ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले बताएको छ।

त्यसले अन्य मानिसहरुलाई सुरक्षित बस्न प्रेरित गर्ने स्वास्थ्य अधिकारीहरुलाई बताउँदै आएका छन्। तर सुदूरपश्चिममा भने कोरोना परिक्षण भन्दा अहिले नै राहत वितरणमा स्थानीय तहले जोड दिएका छन्। 
  
 
     

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस