सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम स्वास्थ्य आपूर्ती केन्द्रले १५ भेन्टीलेटर र आईसियु खरिदका लागि माग्यो बजेट

फाईल तस्बिर
फाईल तस्बिर
२०७६ चैत्र २५, ०२:३६ जनक विष्ट

सुदूरपश्चिमको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले कोरोना भाईरस (कोभिड–१९) का गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि बजेट माग गरेको छ। आपूर्ती केन्द्रले प्रदेशमा कोरोना भाईरस महामारीका रुपमा फैलिन सक्नेतर्फ सचेत रहदै मातहतका अस्पतालका लागि १५ वटा भेन्टीलेटर र आईसियु खरिदका लागि बजेट माग गरिएको जनाएको छ।

प्रदेश आपूर्ती व्यवस्थापन केन्द्रका सूचना अधिकारी समेत रहेको जनस्वास्थ्य निरीक्षक लक्ष्मी श्रेष्ठले कोरोना भाईरसको संक्रमणबाट गम्भीर अवस्थामा पुग्ने विरामीको उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न तयारी थालिएको जानकारी दिए। श्रेष्ठले १५ वटा भेन्टीलेटर, १५ शैयाको सघन उपचार कक्ष (आईसियु), १५ वटा अक्सिजन कन्सनट्रेटर र कार्डियाक मोनिटर खरिदका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको बताए।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रबाट माग भएको बजेटको प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाईएको जानकारी दिए। ‘आपूर्ती केन्द्रले थप उपकरण खरिदका लागि प्रस्ताव गरेको छ, हामीले सहमतीका लागि अर्थ मन्त्रालयमा पठाएका छौँ।’ कार्कीले भने, ‘अन्य प्रक्रिया अगाडी बढाईसकेका छौँ सहमती आएपछि चाडै खरिदमा जान्छौँ।’

सुदूरपश्चिममा अहिले धनगढीको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल सहित गरी १० वटा भेन्टीलेटर छन् भने नीजि अस्पतालमा ७ वटा मात्र भेन्टीलेटर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। कैलाली र कञ्चनपुरमा चार जना कोरोना भाईरसका संक्रमित भेटिएका छन्।

नेपालमै पहिलो पटक कैलालीमा स्थानीयमा पनि कोरोनाको संक्रमण सरेको पुष्टि भएको छ। दुबईबाट आएका ३१ वर्षीय युवककी भाउजुमा कोरोना पोजेटिभ देखिएपछि सुदूरपश्चिम कोरोना भाईरसको दोस्रो चरणमा प्रवेश गरिसकेको छ। कोरोना प्रभावित छिमेकी भारतबाट समेत झण्डै डेढ लाख बढि मानिस फर्किएको सरकारी तथ्याङ्क भएकाले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम बढि जोखिममा रहेको संघिय स्वास्थ्य मन्त्रालयले बताईसकेको छ।

कोरोना संक्रमित बिरामी गम्भीर अवस्थामा पुगेमा उपचारका लागि भेन्टीलेटर र आईसियु अनिवार्य चाहिने भएपनि सुदूरपश्चिममा पर्याप्तता नहुँदा समस्या हुने भन्दै चिन्ता व्यक्त गरिएको छ। तर प्रदेश सरकारले भने अहिले सम्म आईसियु र भेन्टीलेटर खरिदका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्न नसकेको हो।

अहिले सेती प्रादेशिक अस्पताल दुई वटा भेन्टीलेटर र पाँच शैयाको सघन उपचार कक्ष आईसियु सञ्चालन तथा कञ्चनपुरको महाकाली अस्पतालले पनि एउटा भेन्टीलेटर खरिदको प्रक्रिया थालेका छन्। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस