सधैँ क्वारेन्टाइन र आइसाेलेसनमा राखिएकाे म
विनोद परियार
तिम्रो क्वारेन्टाइन आज आयो
म वर्षौँ देखि क्वारेन्टाइन र आइसोलेसनमा छु
मेरा पुर्खाहरूलाई पनि तिमीले आइसोलेसनमा राखेकै हौ
फुर्सद भए सम्झनू, बुझ्नू, र फरक छुट्याउनू
तिम्रो क्वारेन्टाइन र मेरो क्वारेन्टाइनबिच ।
हजुरआमाको गर्भमा हुर्किँदै गरेका
मेरो बुबाका लागि सपना सजाउन
हजुरबाले तिम्रा लालाबालाले मुतेर गन्धले भिजाएका
फाटा सिलाए
जेठको धुप नभनी पुषको चिसो नभनी,
सिँगानपुछेका बाहुला
घुँडामा फाटेका पाइजामा
कुहिना फाटेका कोट या भनौँ कुनै अरू वस्त्र
सिलाए र तिम्रो लाज छोपिदिए,
त्यो पनि आइसोलेसनमा बसेर ।
कमिला र माहुरीको जस्तै मेहनत गर्ने मेरा पुर्खाहरू सदियौँदेखि क्वारेन्टाइनमा राख्यौे,
मेरा बुवालाई न जन्मिदै क्वारेन्टाइन वा आइसोलेसनमा राख्यौ,
म गर्भाशयमा हुर्किदैँ गर्दा आइसोलेसनमै बसेँ,
जन्मिँदा आइसोलेसनमै बसेँ,
र अभ्यस्त भइसकेँ।
र त, मलाई तिम्रा क्वारेन्टाइनको रत्तिभर डर छैन
लागोस् पनि किन, जन्मिदै आइसोलेटिड न परेँ ।
तिम्रो लाज छोप्न कपडा सिलाउने
विवाहमा वा तिम्रा पवित्र कर्ममा पञ्चेबाजा घन्काउने
दमाईलाई,
दुलही अन्माएको डोली बोक्ने लुहार, कामी,
सार्की, पार्कीहरुलाई
घरदेखि पर गोठमा वा तिम्रो नजरसम्म नपुग्ने
भित्ता नै नभएको ढिकी जाँतोको ओतमा,
क्वारेन्टाइन वा आइसोलेसनमा राखेका होइनौ र १
जहाँ सहारामा न सरकार थियो
न डाक्टर न त कुनै राहत १
पिस्दै नपिसेको खुर्सानी,
ढिके नुन
चडाले विष्टा गरेको पात
थोत्रो गिलास
अरूले खाइसकेपछिको अन्तिम भोजन
आइसोलेसनका सहारा
म बिर्सिन सक्दिनँ ।
मेरा पुर्खाहरूलाई हजुरबुवालाई र बुवालाई क्वारेन्टाइन राखेर,
नअघाएका तिमीले
मलाई पनि त क्वारेन्टाइन राख्यौ।
अहिलेको क्वारेन्टाइनले तिमीलाई पाठ सिकाओस्
क्वारेन्टाइनको पीडा बोध गराओस् र
मेरा छोराले बस्नुनपरोस् पुर्खाहरूझैँ
सदैव क्वारेन्टाइन र आइसोलेसनमा।
तिमीले क्वारेन्टाइनको पीडा बुझ्दै बुझेनौ
भोग्दै भोगेनौ या बुझ्नै चाहेनौ
अब अलिकति भए नि थाहा भयो होला
क्वारेन्टाइन र आइसोलेसनको पीडा
अझै बुझ्न बाँकी छ आइसोलेसनको पीडा १
बुझ्न चहानुहुन्छ भने
मेरी हजुरआमालाई सोध्नू
हजुरबालाई सोध्नू
क्वारेन्टाइनबाटै जन्मेको व्यथाले
पैतिस नकाट्दै दैवले आइसोलेसन मुक्त पारिएका मेरा बुबालाई सोध्नू,
छाउगोठमा मरेकी अबला नारीलाई सोध्नू,
वा
मलाई सोध।
किनकि आजका दिन
म छु डबल आइसोलेइटिड,
र पनि छु, सेल्फ कन्सोलेइटिड
म त भुक्तभोगी हुँ
र त, छैन मलाई तिम्रो आइसोलेसन र क्वारेन्टाइनको डर ।