जय शम्भुको टिजर रिलिज
चलचित्र ‘जय शम्भु’को टिजर रिजिल गरिएको छ ।सामाजिक भिडियो सञ्जाल युट्युबमार्फत यसको टिजर जारी गरिएको जय शम्भुका निर्देशक रूपेश तामाङले बताए ।
टिजरमा प्रेम, वियोग र त्यसले निम्त्याएको द्वन्द्वलाई प्रस्तुत गरिएको छ । जसमा तीन मुख्य कलाकार प्रशान्त ताम्राकार, अनुपविक्रम शाही र वर्षा शिवाकोटीबीचको द्वन्द्वलाई देखाइएको छ ।
दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माता, चक्र पाख्रिन कार्यकारी निर्माता, सहनिर्माताहरू कुशल शर्मा र शिक्षा काले हुन् ।
एक्सन प्रधान लभस्टोरी जनरा भनिएको यो चलचित्रका बाँकी कलाकारमा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, वसन्त भट्ट, राजकुमार थापा, कालु रानालगायतका छन् ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा बीके फिल्म्सका गोपालकाजी कायस्थ र मोफसलका लागि एफडी कम्पनीले वितरण गर्ने पनि निर्देशक रूपेशले बताएका छन् ।
जय शम्भुमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य, हरि घले लामाको छायांकन रहेको छ ।