सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिल्पामाथि खनिए ‘वीराङ्गना’ निर्देशक

२०७५ साउन १, ०८:०४

शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘वीराङ्गना’ ले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसकेपनि दर्शकको राम्रो साथ मिलेको छ । 
अनुप विक्रम शाही, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईँको लिड रोल रहेको यो फिल्म देशभरका ७० बढी हलमा लागेको निर्माताको दाबी छ । 
 शुक्रवार र शनिवारको सुखद कलेक्सनबाट उत्साहित देखिएको फिल्मको टीमले आइतवार राजधानीमा एक कार्यक्रमका बीच केक काटेर सेलिव्रेसन गरेको छ । 
खुसियाली मनाउन निर्माताहरु बाबुराम दास, श्यामबहादुर थापासँगै निर्देशक राजबहादुर साने र अभिनेता पृथ्वी उपस्थित थिए । 
 निर्माता श्यामबहादुर थापाले आफ्नो लागि दर्शकबाट पाएको प्रतिक्रिया नै सबैभन्दा ठूलो कमाई रहेको बताए । उनले फिल्मको कलेक्सनबाट पनि सन्तुष्ट रहेको बताएका छन् । निर्देशक सानेले भने नेपाली फिल्म क्षेत्रमा ठूलो राजनीति हुने गरेकोमा दुखेसो पोखे । 
 उनी भन्छन्, 'यसअघि 'वृन्दावन' को पालामा पनि निकै दुख पाएका थियौँ । ‘वीराङ्गना’ मा पनि त्यो दुख दोहोरियो । हामी नयाँ भएका कारण सबैबाट अत्याचार भयो । तर त्यो दुखलाई फिल्मको व्यापारले खुसी तुल्याएको छ । '
 उनी प्रचार-प्रसारमा साथ नदिएको भन्दै कलाकारमाथि पनि खनिए । अनुपको बारेमा खासै बोल्न नचाहेका निर्देशक साने, शिल्पाप्रति भने कडै रुपमा प्रस्तुत भए । 
 उनले भने, 'प्रचारमा राम्रो साथ दिनुभयो तर शनिवार हल पुग्दा अधिकांश दर्शकले उहाँलाई खोज्नुभएको थियो । तर उहाँ हुनुहुन्न थियो । शिल्पा जीलाई सराप लाग्छ ।' 
उनले आगामी प्रोजेक्टमा शिल्पाको नाम आउँदा एकपटक सोचेर मात्र निर्णय लिने पनि बताए । 

कमेन्ट लोड गर्नुस