कायरा आर्यनको करिअरकै टर्निङ !
आर्यन सिग्देललाई दर्शकले विशेषगरी लभर ब्वाईका रूपमा मन पराएका थिए । उनी अभिनीत मेरो एउटा साथी छ, किस्मत, आई एम सरी, कसले चो-यो मेरो मन, महसुस, नोभेम्बर रेन, क्लासिकलगायत प्रेमकथानक फिल्मले दर्शकमाझ बेग्लै छाप छाडेका छन् ।
‘चक्लेटी हिरो’का रूपमा चर्चित आर्यनले बीचमा केही एक्सन फिल्ममा अभिनय गरे । तर, दर्शकले ती फिल्ममा ध्यान दिएनन् ।
आर्यनले नाइके, आवेगजस्ता फिल्मबाट आफूलाई एक्सनमा पनि ट्राई गरे, तर ती फिल्मका निर्देशकले उनलाई उचित भूमिका र प्रस्तुतिमा प्रस्तुत गर्न सकेनन् । जसकारण आर्यनको करिअर अलि धिमा हुन पुग्यो ।
आर्यन फेरि एकपटक लभर ब्वाईका रूपमा पर्दामा आएका छन्– कायरामार्फत । कायरा अर्थात्, लक्ष्मण रिजाल निर्देशित प्रेमकथानक फिल्म । आज शुक्रबारदेखि देशभरका झन्डै ६ दर्जन हलमा एकसाथ प्रदर्शनमा आएको छ ।
आर्यनको गृहब्यानरमा निर्माण भएको कायरामा उनकी जोडी छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । पछिल्लो पुस्ताकी सर्वाधिक चर्चित र सफल हिरोइन साम्राग्री कायरामा कायरा नामक चित्रकार युवतीको भूमिकामा छिन् ।
ड्रिम्स, ए मेरो हजुर–२, मंगलम् र तिमीसँगपछि साम्राज्ञीको प्रदर्शनमा आएको यो पाँचौँ फिल्म हो । पहिलोपटक शीर्ष भूमिका निर्वाह गरेकी साम्राज्ञी कायराबाट निकै आशावादी छिन् ।
भन्छिन्, ‘म बच्चैदेखि आर्यन दादाको फ्यान थिएँ । उहाँका प्रायः फिल्म हेरेकी छु । उहाँलाई म रोमान्स किङ नै मान्छु । उहाँसँग स्क्रिन सेयर गर्न पाउँदा निकै खुसी लाग्यो । दर्शकलाई कायरा कस्तो लाग्ला भन्नेमा एक्साइटेड छु ।’
पछिल्लो समय कायराको प्रचारप्रसारमा खटिएका आर्यन र साम्राज्ञी बुधबार लाजिम्पाटस्थित एउटा क्याफेमा भेटिए । झन्डै तीन सातादेखि कहिले मोफसलमा त कहिले राजधानीमा सञ्चारकर्मीसँग साक्षात्कार गरिरहेका उनीहरू दुवै कायराप्रति बढी नै विश्वस्त थिए ।
आर्यन बोले, ‘जसरी मलाई दर्शकले लभर ब्वाईका रूपमा मन पराउँदै आउनुभएको छ, कायराले अझ विशेष गर्नेछ,’ उनले थपे, ‘झनडै दुई वर्षको ग्यापपछि म फुल लभस्टोरी फिल्ममा आएको छु । त्यसैले दर्शकको साथ पाउनेमा विश्वस्त छु ।’
शीर्ष भूमिकामा अभिनय गरेकी साम्राज्ञीले स्क्रिप्ट सुन्दाखेरि नै आफू उत्साहित भएको बताइन् ।
‘आर्यन दादाको फिल्मबाट अफर आयो । स्क्रिप्ट न्यारेट उहाँ आफैँले गर्नुभयो । मलाई स्क्रिप्ट नै निकै दमदार लाग्यो, त्यसमाथि लक्ष्मण दाइको निर्देशन । मैले सक्दो कोसिस गरेकी छु । मिहिनेतअनुसारको फल मिल्नेमा कन्फर्म छु म,’ उनले थपिन्, ‘लभस्टोरी फिल्म मन पराउनेका लागि कायरा निकै स्पेसल छ ।’
आर्यनले आफूलाई लभस्टोरी फिल्म नै फाप्ने भएकाले कायरा निर्माण गरेको सुनाए । ‘मैले एक्सन फिल्म पनि खेलेँ, लभ रिभेन्ज फिल्म पनि गरेँ । तर, अन्ततः दर्शकले मलाई लभर ब्वाईमै धेरै हेर्न चाहेको पाएँ,’ आमदर्शकले दिने गरेको प्रतिक्रिया सुनाउँदै उनले भने, ‘म उपत्यका, मोफसल, तथा देशबाहिर, जहाँ पनि गएँ, अधिकांश दर्शकले लभस्टोरी फिल्ममा, लभर ब्वाईकै रूपमा हेर्न चाहेको बताउने गर्नुभएको छ । त्यसैले लभस्टोरी फिल्म बनाएको हँु ।’
कतिपय दर्शकले आफूलाई काटमारका दृश्य अर्थात् एक्सन फिल्ममा अभिनय नगर्न सुझाएको समेत उनले बताए ।
आफूभन्दा सिनियर अभिनेता आर्यनसँग अभिनय गर्न निकै सहज भएको अनुभव साम्राज्ञीको छ ।
‘उहाँ धेरै को–अपरेटिभ, हेल्पफुल र बुज्झकी हुनुहुँदो रहेछ । उहाँ कुशल अभिनेता मात्र नभई कुशल निर्माता पनि हो । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो चरित्रमा तुरुन्तै डुब्न सक्नुहँुदो रहेछ । बरु मलाई कहिलेकाहीँ अलि समय लाग्थ्यो । तर, उहाँचाहिँ हरपल तयार नै पाएँ,’ साम्राज्ञी भन्छिन्, ‘उहाँजस्तो पर्फेक्ट एक्टरसँग स्क्रिन सेयर गर्न पाउँदा गर्व लागेको छ ।’
आर्यनले पनि साम्राज्ञीको तारिफ गरे । ‘साम्राज्ञीलाई आफ्नो काममा शतप्रतिशत समर्पित पाएँ । न सुटिङमा न त पब्लिसिटीमा, कहिल्यै पनि उनलाई कुर्नुपरेन । एकदमै पङ्चुअल, प्रोफेसनल र डेडिकेटेड पाएँ ।’
कायराको लगभग ९५ प्रतिशत सुटिङ फिलिपिन्समा गरिएको हो । सुटिङका लागि काठमाडांैबाट झन्डै दुई दर्जन कलाकार तथा प्राविधिक फिलिपिन्स उडेका थिए । कथाको माग तथा ‘फ्रेसनेस’का लागि फिलिपिन्स रोजिएको आर्यनले बताए ।
हत्तपत्त बाहिरी ब्यानरका फिल्ममा अभिनय गर्न नचाहने आर्यन कायरा आफ्नो करिअरको ‘टर्निङ’ भएको बताउँछन् ।
भन्छन्, ‘धेरै सोचविचार, मिहिनेत र गृहकार्यपछि कायरा दर्शकमाझ आएको छ । हामीले सकेको गरेका छौँ । अब बाँकी सबै जिम्मा दर्शकलाई ।’ साम्राज्ञी पनि दर्शकले कायरालाई जुन रूपमा लिनेछन्, आफू सहर्ष स्वीकार गर्ने बताउँछिन् ।