कैटरिनालाई प्रियंकाकै पारिश्रमिक
प्रियंका चोपडाले भारत फिल्म छोडेपछि सो भूमिकामा कुन हिरोइनलाई लिइएला भन्ने कौतुहल छाएको थियो । अन्ततः भारतमा हिरोइन तय भएकी छिन–कैटरिना कैफ ।
सलमान खानको भारतबाट प्रियंका बाहिरिएपछि उनको ठाउँमा कैटरिनाको नाम आएको थियो ।
निर्देशक अली अब्बास जाफरले पछिल्लोपटक टाइगर जिन्दा हैँ मा सँगै काम गरेकाले फेरि कैटरिनालाई निर्देशन गर्ने मन भएको बताएका थिए ।
सोहीअनुसार भारतमा हिरोइन को होला भन्ने चर्चा चलेको थियो । अन्ततः सलमान र अली अब्बासले कैटरिनालाई हिरोइन लिएका छन् ।
कैटरिनाले भारतमा आफूले अभिनय गर्ने पक्का भएको बताएकी छिन् । उनले आफूलाई निर्देशक अलीले फोन गरेर अफर गरेको र स्क्रिप्ट पढेपछि रोल निकै मन परेकाले स्विकारेको उल्लेख गरेकी छिन् ।
कैटरिनाले पारिश्रमिकको कुरै नगरी आफूहरूको फिल्म स्विकारेकाले सलमानले उनलाई पनि प्रियंकाले लिने गरेकै रकम पारिश्रमिक दिने निर्णय गरेको भारतीय अनलाइनले उल्लेख गरेका छन् ।
प्रियंकाले एउटा फिल्ममा अभिनय गरेबापत १२ करोड भारु पारिश्रमिक लिँदै आएकी छिन् । जब कि कैटरिनाले ४–५ करोड भारुमा काम गर्ने गरेकी छिन् ।
यस हिसाबले भारतमा अभिनय गर्दा कैटरिनालाई मनग्य फाइदा हुने भएको छ ।