सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठे गीतबाट सुरु भएको दार्चुलाकी पुष्पाको सांगीतिक यात्रा

२०७५ मंसिर २९, ०२:५० खबर संवाददाता

भनिन्छ जहाँ ईच्छा त्यहा उपाय, सुदूरपश्चिमको विकट दार्चुला जिल्लाको पनि विकट खण्डेश्वरीमा जन्मिएर नेपाली संगीतमा नाम र दाम कमाउन निकै मुस्किल थियो, गायिका पुष्पा बोहरालाई। तर सानैदेखी जागेको गायिका बन्ने रहर र निरन्तरको संघर्षले अहिले बोहरालाई नेपाली संगीतमा चर्चित बनाईदिएको छ।

विद्यालय स्तरदेखी नै गायनमा सारै रुची भएकी पुष्पा वोहराको सांगीतिक क्षेत्रमा सक्रियता भने एसएलसी उत्तिर्ण गरेपछि बढ्यो। उच्च शिक्षा हासिल गर्नका लागी छिमेकी मुलुक भारतको धार्चुला गएकी बोहराले सो क्षेत्रमा आयोजना गरिने थुप्रै सास्कृतीक कार्यक्रममा सहभागीता जनाउने मौका पाईन्। स्थानीय स्तरमा आयोजित कार्यक्रममा बोहराको गायनबाट प्रभावित भएका गाउले र शिक्षक शिक्षीकाहरुले गायीका बन्न सुझाव दिए। सोही सुझावलाई मनन् गर्दै बोहरामा गायिका बन्ने जागर बढ्यो। सुदूरपश्चिममा जन्मिएका अधिकासं गायक गायिकाको सांगीतिक यात्रा देउडा बाटै सुरु हुन्छ होला।

तर गायनमा संघर्ष गरिरहेका बेला काठमाडौमा २ बर्ष संगीत सिकेकी वोहराको सांगीतिक यात्राको सुरुवात भने काठे गीतबाट भयो। काठे गीतहरु प्राय राजधानी र वरपरका जिल्लामा बढि लोकप्रीय छन्। काठे गीत गाउँदै सुरु भएको उनको सङगीतको यात्रा त्यसपछि आधुनीक, लोक दोहरी, चलचित्र हुदै अहिले आफ्नै जन्मभुमीको लोकप्रिय डेउडामा पुगेको छ। थुप्रै चलेका लोक दोहरी र देउडा गीतमा गायकिा बोहराको  स्वर छ।

सुदूरपश्चिमको एउटा विकट बस्तीबाट सुरु भएको बोहराको गायन यात्राले अहिले सफलता त पाएको छ तर सुरुवातको समयमा गर्नुपरको संघर्ष सुनाउदा अहिले पनि गायिका बोहरा भावुक बन्छिन्। काठमाडौ छिर्ने बेला नेपाली साङगीतीक क्षेत्रका विषयमा पुर्ण रुपमा अनभिज्ञ रहेकी बोहराले नेपाली तारा लगायत थुप्रै गायन प्रतिस्पर्धामा भाग लिईन। तिनै प्रतिस्पर्धाबाट धेरैले उनको स्वर रुचाएपछि अहिले गायीका बन्न सफल भएको अनुभव वोहराको छ।

अहिले कलाकारहरुको प्रमुख आय आर्जनको माध्यम बनेको स्टेज कार्यक्रमका लागी आफ्नै जन्मथलोबाट पनि निमन्त्रणा नआउदा बोहरालाई दुख लाग्छ। सुदूरपश्चिमका विभीन्न जिल्लाहरुमा आयोजना हुने मेला महोत्सवमा यस क्षेत्रका आयोजकहरुले पूर्वबाट नाम नै नसुनेका कलाकारहरु ल्याउन भ्याउछन् तर पूर्वतिर समेत चर्चीत बनेकी सुदूरपश्चिमकी छोरी बोहरालाई बोलाउने चाहना कमैले गरेका छन्। आफ्नै जन्मथलो सुदुरपश्चिमबाट स्टेज कार्यक्रमका लागी त्यति निमन्त्रण नपाएपनि पुर्वका जिल्लाहरुमा हुने कार्यक्रममा भने आफ्नो क्षमता र प्रतिभाको कदर भएको उनको भनाई छ।

तर पछिल्लो समयमा भने गायिका बोहराको व्यस्तता सुदूरपश्चिमका मेला महोत्सवले पनि बढाएको छ। दार्चुला र बैतडी जिल्लाका विभिन्न कार्यक्रममा उनको सहभागिता रहेको छ। अहिले सुदूरपश्चिमका अन्य जिल्लाबाट पनि कार्यक्रमका लागि निमन्त्रण गर्ने क्रम बढ्दै गएको गायिका बोहराले बताईन्। 
 

कमेन्ट लोड गर्नुस