महाकाली नदीको सतह अहिलेसम्मकै उच्च, शारदा ब्यारेजमा आवतजावत बन्द
धनगढी: आइतबार साँझदेखि अविरल रुपमा परिरहेको वर्षातका कारण कञ्चनपुरको महाकाली नदीको जलस्तर अहिलेसम्मकै उच्चमा पुगेको छ। महाकाली नदीका उच्च सतह वृद्धि भएसँगै कञ्चनपुर बाढीको उच्च जोखिममा परेको छ।
मंगलबार बिहानको मापन अनुसार महाकाली नदीमा ४ लाख ७७ हजार क्यूसेक पानीको सतह पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।
जिल्लाको भीमदत्त नगरपालिकाको खल्लामछेट्टीदेखि झोलुंगेसम्म र दोधारा चाँदनी नगरपालिकाको महाकाली किनारका सबै बस्तीहरुमा बाढी पसेको उनले बताए। डुवान तथा जोखिममा रहेका परिवारको रातीदेखि नै उद्धारको काम भइरहेको प्रहरीले बताएको छ। तर हालसम्म कति परिवार विस्थापित भए भन्ने यकीन तथ्यांक भने कसैसँग छैन।
यस्तै महाकाली नदीमा पानीले खतराको सतह नाघेपछि भारतको बनबासा जोड्ने शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ। शारदा ब्यारेजमा सवारी साधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ।