सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरस्वती सन्देश

२०७५ माघ २७, ०७:१६

तिमी विद्यामाता विशद विमला सोभित कति।
लिऊन् शिक्षा तिम्रा भरपुर सबै साधक जति ।।
सदा आभा थप्दै मनभरि धरी वश्र सुकिलो।
गरौं केही आफै, नव युग रचौँ मिष्ट रसिलो।।

#वीणा
सधैं मीठो बोली हृदय सुरिलो शब्द जतन।
नबोले है मिथ्या छल कपट वा तिक्त वचन।।
भनी वीणाका मोहक ध्वनिहरू नै बजिरहे ।
सयौं हारे, कैयौं जिति पनि रहे यै लवजले ।।

#किताब
किताबैका पाना अमृत रस हुन् ज्ञान लहर।
रसास्वादै चुस्ने बनु सुलतको फूल भ्रमर ।।
बनाऔं आगामी हर दिनहरू पूर्ण रहरका ।
सिँगारौं विद्याले जगतभरिमा दीप्त दिपिका ।

#माला
बढाऔं हुर्काऔं असल कृति थप्ने क्रमहरू।
उनौं माला यौटा,सफल चहकाऔं श्रमहरू।।
मरे मर्ला चोला तर पनि कुनै कर्म नमरून् ।
सबैको श्रद्धामा अमर अजरैमा रहिरहून् ।।

#कमल
हिलो मैलो सारा दल दलबिचै फूल कमल ।
छ शोभा शोभामा अनुपम बन्यो एक असल।।
कदाचित् यात्रामा दुरगुणसितै संगत पुगे।
यही भन्छ्यौ माता दृढ अटलता मार्ग नचुके।।

#हांस
जसै बाँठो हाँसै अति अति विवेकै रचियता।
त्यसै रोजौं बाटो उचितमयको निर्णय सदा।।
छ यात्रामा हिँड्नू सजक सचेतै भरिकन।
म झुक्छू श्रद्धाले चरणकमलैमा परिकन।। 
जय ! सरस्वती।

कविता 

(शिखरिणी छन्द)

कमेन्ट लोड गर्नुस