एसपीपी सम्बन्धमा नेपालको पत्र प्राप्त भइसक्योः अमेरिकी दूतावास
काठमाडौँः स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको अमेरिकाले जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका पब्लिक अफियर्स प्रमुख ग्यारेट विल्करसनले पत्र प्राप्त भइसकेको जानकारी दिए।
परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभामा शुक्रबारै बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ मा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको जानकारी दिएका थिए। मन्त्रिपरिषद्को असार ६ को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो।
‘हो, हामीले एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश प्राप्त गरेका छौं। हामी एसपीपीमा सरकार (नेपाल) को निर्णयलाई बुझ्छौं र पूर्णरूपमा स्वीकार गर्छौं।’ विल्करसनले भने। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि अमेरिकालाई पत्राचार गरिसकेको बताइन्।