कलाकार अपूर्व क्षितिजलाई रिहा गर्न एमालेको माग
धनगढीः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रहरी थुनामा रहेका हास्य कलाकार अपूर्व क्षितिज सिंहको रिहाइको माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले १० दिनदेखि प्रहरी हिरासतमा रहेका सिंहलाई रिहा गर्न माग गरेका हुन्।
भट्टराईले भने, ‘कलाकार सिंहले हास्यकला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पर्यो होला। शीर्ष नेताहरुले प्रज्ञा भवन र सभागृहमा बसेर हास्य कलाकारले आफूमाथि गरेको कडा व्यङ्ग्यहरू स्वीकार गरेका छन्। तर यस्तो हुँदा पनि कलाकार सिंहलाई १० औँ दिनदेखि थुनामा राख्नु गलत हो।’
सिंहमाथि कुनै पनि प्रकारको अत्याचार नहोस् भन्दै भट्टराईले, ‘म उनको शीघ्र रिहाइको माग गर्छु। उनले आफ्नो प्रस्तुति हटाइसकेको र माफीसमेत मागेका छन्। यो अवस्थामा उहाँमाथि कुनै पनि अत्याचार नहोस्,’ भनेका छन्।
सिंहलाई भदौ १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौँले पक्राउ गरेको थियो। नेवारी समुदायको आस्थामाथि सिंहको व्यङ्ग्यले चोट पुर्याएको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको थियो।