सुदूर नेपाललाई विश्वसँग जोड्दै

विनोद चौधरीको नाम सिफारिस भएपछि कांग्रेसमा विरोध

२०७९ भदौ २५, १२:२८ खबर संवाददाता

धनगढीः पश्चिम नवलपरासीका दुइटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उद्योगपति विनोद चौधरीको नाम सिफारिस भएपछि नेपाली कांग्रेसभित्र विवाद बढेको छ। चौधरीको नाम सिफारिसको स्थानीय नेता तथा कार्यकर्ताहरुले विरोध गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौधरीको नाम प्रतिनिधिसभा नं १ र २ दुवैबाट उम्मेदवारमा सिफारिस गरिएको भन्दै कार्यकर्ताहरुले विरोध गरेका हुन्। चौधरी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। लामो समय भूगोलमा काम गरेका अनुभवी नेताहरु हुँदाहुँदै अन्य क्षेत्रका नेतालाई सिफारिस गरिएको भन्दै विरोध गरिएको हो। यसले पार्टीमा आन्तरिक विवाद बढाएको उनीहरुको भनाइ छ। कांग्रेस सुस्ता गाउँपालिकाका सभापति रवीन्द्र जयसवालले जिल्लाका अनुभवी नेताहरुलाई बाहिर राखेर उद्योगपति चौधरीको नाम सिफारिस गरिएपछि विरोध भएको जानकारी दिए।

क्षेत्र नं १ बाट चौधरीसहित ५ जनाको नाम सिफारिस गरिएको छ। कांग्रेस क्षेत्र नं १ का सभापति मुकुल आचार्यले चौधरीको नाम पाँचौं नम्बरमा सिफारिस गरिएको बताए। कार्यकर्ताहरूले असन्तुष्टिस्वरुप विरोध जनाए पनि आएका सबै नाम पठाइएको आचार्यले बताए।

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल र पार्टी केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलको गुटगत लडाइँका कारण नवलपरासीमा कांग्रेस कार्यकर्ता विभाजित छन्। उद्योगपति चौधरीको नाम सिफारिसमा समर्थन गर्नेहरु पनि छन्। क्षमता भएका उद्योगपतिलाई जिल्लामा ल्याउनु राम्रो भएको उनीहरुको भनाइ छ। यस विषयमा विवाद गर्नुको तुक नभएको भन्दै उनीहरुले चुनावमा जान डराउनेहरुले चौधरीको विरोध गरेको बताए।

कमेन्ट लोड गर्नुस