देउवाले देश बर्वाद गर्न लागेकाले कांग्रेस छाडेर एमालेमा आएः सन्तोष यादव
काठमाडौंः नेपाल कांग्रेसका प्रभावशाली प्रदेश नेता सन्तोष यादवले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। आज जनकपुरमा आयोजित नेपाल बौद्धिक परिषद मधेस प्रदेशको प्रथम अधिवेशनमा यादवलगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्।
उनले पार्टी प्रवेश गर्दै आफ्ना धारणा राखेका छन्। उनले आफूले हिजो जिल्ला नेतृत्वमा काम गरेको तथा जनआन्दोलनमा खुन पसिना बगाएको स्मरण गरे। यादवले राजनीतिक सक्रियताका क्रममा जेल परेको पनि बताए। पूर्वराष्ट्रपति समेतले वडाको टिकट पनि बिक्री हुने कुरा उल्लेख गरेको यादवले दाबी गरे। उनले वडाको टिकटसमेत बिक्री हुनुभन्दा लज्जास्पद के हुन्छ भनि प्रश्न गरेका छन्।
त्यस्तै, यादवले सत्ता गठबन्धनलाई ठगबन्धनको संज्ञा दिए। विचार र सिद्धान्त केही नमिल्ने र यो क्षणिक भएको उनको तर्क छ। त्यस्तै, उनले कांग्रेस नेताहरु दिनभर पसलमा पान खाएर बस्ने तर जनताको काम नगर्ने आरोपसमेत लगाए। ‘गठबन्धन ठगबन्धन हो झुटाहरुको। न विचार न सिद्धान्त मिल्छ। क्षणिक दिनको गठबन्धन हो। यही चुनावमा जनताले मुहतोड जवाफ दिनेछन्’, यादवले भने, ‘धनुषामा टिकट लिन डराउछन् कांग्रेसमा। किनकी वडाध्यक्ष सम्मको टिकट बिक्री हुन्छ। यसरी नै बेच्नुस् टिकट एकदिन भाग्नुपर्छ। कांग्रेसका नेताहरु पान खाएर दिनभर पसलमै बिताउछन् तर जनताको काम गर्दैनन्।’
कांग्रेसको भण्डाफोर गर्दै एमालेमा लागेका यादवले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्नसमेत गरेका छन्। उनले भने, ‘शेरबहादुर दाई के मिल्यो प्रचण्ड र उपेन्द्र यादवसंग गठबन्धन गरेर। तपाई देश बर्बाद गर्दै हुनुहुन्छ।’ त्यस्तै, यादवले आफू कर्मको आधारमा राजनीति गरिरहेको बताउँदै कामको जिम्मेवारी दिए गरेर देखाउने प्रतिवद्धता जनाए।