धनगढीमा ‘प्रेम गीत–३’ को टोली, चलचित्रको बजार फराकिलो बनाउने दाबी
धनगढीः नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेम गीत–३’ को टोली धनगढी पुगेको छ। चलचित्रको प्रदर्शनी मिति नजिकिएसँगै प्रचार–प्रसारका लागि बिहीबार टोली धनगढी पुगेको हो।
असोज ७ गतेदेखि प्रदर्शनमा आउन लागेको सो चलचित्रका टोलीले भारतका विभिन्न स्थानमा प्रचारप्रसार गरिरहेको छ। सो टोलीले धनगढीस्थित एसटिएस सिनेमा हलमा फिल्मको झलक प्रदर्शनसँगै पत्रकार भेटघाट गरेको छ। चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो। सो चलचित्र भारतका विभिन्न ठाउँमा एकसाथ प्रदर्शन हुन लागेको निर्माता निर्देशक सन्तोष सेनले बताए।
‘एकसाथ भारतका धेरै ठाउँमा नेपाली चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र उद्योगका लागि ठूलो अवसर हो’, उनले भने। यसले नेपाली चलचित्रको बजार फराकिलो बनाउने उनले विश्वास व्यक्त गरे। उनले यसबाट नेपाली कला, संस्कृति र मौलिकताको प्रवद्र्धन पनि हुने बताए।
दशैंको समयमा प्रदर्शन हुन लागेको सिनेमाले ५० वर्षे नेपाली सिनेमाको इतिहासमा अन्तर्राष्ट्रीय सिनेमा बजारमा पहिलोपटक ढोका खोल्ने उनले बताए। नेपालका विभिन्न भागमा पुगी छाँयाकन गरिएको सो चलचित्रको निर्माणका क्रममा आठ करोड बढी रकम खर्च भएको निर्माण कम्पनीले जानकारी दिएको छ।
चलचित्रमा खड्कासँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ। सांगीतिक प्रेम कथामा निर्माण भएको ‘प्रेम गीत ३’, ‘प्रेम गीत’ चलचित्रको निरन्तर सिरिज हो। सेनसँगै छेतेन गुरुङ पनि सो चलचित्रका निर्देशक छन।