सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोरी जन्मँदा नाक खुम्चाउने गर्छ [कविता]

२०७९ असोज २, ११:१०

-दीपा रावत
लक्ष्मी, दुर्गा, सरस्वती, काली, सीता देवीहरु भन्दै पूजा गर्ने
अनि, छोरी जन्मँदा नाक खुम्चाउने समाजमा
छोरी भएर जन्मिएकी म
दिन बित्दै जाँदा सपनाहरु बुन्दै जाँदा
समाजले लक्ष्मणरेखा तानी घरको चार दिवारमा थुनिन्छ
अनि,
कहिले समाचार सुनाइन्छ निर्मला हत्याकाण्ड भन्दै
कैले सुनाइन्छ भागरथी हत्याकाण्ड भन्दै
कहिले जलाइन्छ रे दाइजो कम ल्याइ भन्दै,
कहिले जलाइन्छ रे छोरी पाइ  भन्दै,
मारिएकी छिन् अरे बुहारी कैले ससुराको चाहना पूरा गर्न नसक्दा,
कहिले नन्द र सासुको मन बुझाउन नसक्दा
कहिले आफ्नै बाबुले बलत्कार गरी छोरी मारेको सुनिन्छ
कहिले आफ्नै दाजुभाइ काका मामाले बलत्कार गरी मारेको
कसैको जीवन एसिड प्रहार गरि बर्बाद पारिन्छ
जुन समाजले धन चाहिँदा लक्ष्मी अनि विद्या चाहिँदा सरस्वतीको पूजा गर्ने गर्छ
छानीछानी रोजीरोजी बुहारी खोज्ने गर्छ
त्यही समाज छोरी जन्मदा नाक खुम्च्याउने गर्छ
राष्ट्रपति भएकी आमालाई रेडकार्पेट अनि छोरीको रातो रगतमा लतपत पारेको लाश भेटिन्छ
आमाको गर्भदेखि लिएर बाचुन्जेलसम्म आफ्नो अस्तित्व अनि अस्मिताको रक्षा गर्दै बाँच्नुपर्छ
दिनप्रतिदिन छोरी मारिएको देख्दा अब छोरी जन्माउननै बन्द गर्दा राम्रो होला जस्तो लाग्छ 
अनि
हरेक मन्दिरबाट देवीका मूर्तिहरू निकालिनुपर्छ जस्तो लाग्छ,
छोरीबिनाकै आफ्नो समाज बनाउन पनि घोषणा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ
जुन समाजले धन चाहिँदा लक्ष्मी अनि विद्या चाहिँदा सरस्वतीको पूजा गर्ने गर्छ
छानीछानी रोजीरोजी बुहारी खोज्ने गर्छ
त्यही समाजले छोरी जन्मँदा नाक खुम्चाउने गर्छ ।
 

कमेन्ट लोड गर्नुस