गठबन्धनका उम्मेदवार विरुद्ध नलाग्न माओवादीको निर्देशन
धनगढीः नेकपा माओवादी केन्द्र कञ्चनपुरले आफ्ना नेता–कार्यकर्तालाई सत्ता गठबन्धन विरुद्ध नलाग्न निर्देशन दिएको छ।
माओवादीको जिल्ला समन्वय समितिले विज्ञप्ती जारी गर्दै सार्वजनिक तथा सामाजिक सञ्जालमा गठबन्धनका उम्मेदवार विरुद्ध भ्रम, घृणा र उत्तेजना फैलाउने अभिव्यक्ति नदिन निर्देशन दिएको हो।
‘पार्टीभित्र र बाम लोकतान्त्रिक गठबन्धन दलसँगका अन्तर विरोध या कुनै प्रकृतिका असन्तुष्टिका नाममा हामीलाई यो निर्वाचनमा संग्रामबाट पछि हट्ने कुनै छुट छैन’ माओवादीका जिल्ला संयोजक पाण्डेयले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ,‘त्यसैले कम्रेडहरु अहिले नै हाम्रो पार्टी र बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विरुद्ध सार्वजनिक तथा सामाजिक सञ्जालमा भ्रम, घृणा र उत्तेजना फैलाउने अभिव्यक्ति नदिन सम्पूर्ण पार्टी पंक्तिलाई यसै विज्ञप्ति मार्फत कडाई पूर्वक निर्देशन तथा अपिल गरिन्छ।’
माओवादी केन्द्रले निर्वाचनमा पार्टीका सबै नेता कार्यकर्तालाई परिचालन हुन आह्वान गरेको छ। ‘अहिले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टी सदस्य एवं सम्पूर्ण जनवर्गीय संगठन, मोर्चाका नेताको मुख्य जिम्मेवारी भनेकै गठबन्धनका सबै उममेदवारका पक्षमा सक्रिय भएर लाग्नु हो, ‘विज्ञप्तिमा भनिएको छ।
माओवादीले नेता कार्यकर्ताहरुलाई आ–आफ्नो क्षेत्रबाट प्रदेश, नगर, वडा र टोल-टोलमा पूर्ण रुपमा खटिन निर्देशन दिएको छ।