सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचारीमाथि ‘डोजर’ चलाउने इच्छा छः राजेन्द्र लिङ्देन

२०७९ कार्तिक २५, ०६:३० खबर संवाददाता

काठमाडौंः राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तीन दशकदेखि मुलुकको नेतृत्व गर्ने ठूला राजनीतिक दल र व्यवस्था असफल भएको टिप्पणी गरेका छन्।  शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला राजनीतिक दलको नेतृत्व र व्यवस्था नै असफल भएकाले वैकल्पिक शक्तिका रुपमा राप्रपा आएको बताए।

‘जबसम्म नेतृत्व परिवर्तन हुँदैन तबसम्म देशले गति लिँदैन’, लिङ्देनको भनाइ छ।  उनले अब पूर्ण समानुपातिक संसद, संसदले मन्त्री हुन नपाउने व्यवस्था, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारिणी प्रधानमन्त्री र अभिभावकीय रुपमा राजा रहने व्यवस्था कायम हुनुपर्ने बताए। 

सर्व धर्म समभाव र बैदिक सनातनसहितको हिन्दु राष्ट्र नेपाल हुनुपर्ने भन्दै उनले न्यायालयको समेत पुर्नसंरचना गर्न जरुरी रहेको बताए। शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने तथा स्वास्थ्य शिक्षा निःशुल्क र समान हुनुपर्ने भन्दै उनले अवसर पाए नागरिक आयोग गठन गरेर अवैद्य सम्पति जफत गर्ने घोषणा गरे। 

उनले बालेनले काठमाडौंको संरचनामा डोजर चलाएजस्तै ​भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा राप्रपाको रहेको बताए। ‘अवसर पायो भने राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा छ’, लिङदेनको भनाइ छ।

कमेन्ट लोड गर्नुस