कीर्तिपुरमा देउवाले भनेः चुनाव जिताउनुस्, राजनलाई मन्त्री बनाउँछु
काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर १० मा पार्टीका उम्मेदवार राजन केसीलाई चुनाव जिताएर पठाएर मन्त्री बनाउने आश्वासन दिएका छन्।
शुक्रबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, राजनजीलाई चुनाव जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो।’ २०७० र ०७४ मा चुनाव जितेका केसी मन्त्री भएका छैनन्। यो पटक देशका अधिकांश स्थानमा सत्तारुढ दलहरुको गठबन्धन हुँदा कीर्तिपुरमा माओवादी केन्द्रको छुट्टै उम्मेदवार छ। प्रदेशसभा (१) तर्फ आफूलाई नछाडेको भन्दै माओवादीले स्थायी कमिटी सदस्य अञ्जना विशंखेलाई उठाएको छ।
एकीकृत समाजवादी भने कांग्रेससँगै छ। प्रदेश (१) मा कांग्रेसमा पुकार महर्जन र (२) मा एकीकृत समाजवादीका रमा आले मगर उम्मेदवार छन्। कार्यक्रममा देउवाले विचार सिद्धान्त फरक फरक भएपनि संविधान र लोकतन्त्र जोगाउन आफूहरुले गठबन्धन गर्नु परेको बताए।